जीवनमा हुने सबै कुरा केही राम्रोका लागि नै हुन्छ: निति शाह



काठमाडौं। अभिनेत्री निती शाह असोज २४ गते फूलपातीको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘ज्वाइँ साब’मा लक्ष्मी नामक पात्रको भूमिकामा देखिँदै छिन्, जहाँ उनको जोडी कलाकार जितु नेपाल छन्। फिल्मका विभिन्न प्रचार सामग्री जस्तै पोस्टर, टिजर, गीत, र ट्रेलरले नै यस जोडीको प्रस्तुति दर्शकहरूलाई प्रस्ट गरिसकेको छ।

नितीले यो फिल्मको स्क्रिप्ट सुनेपछि छोटो समयमै काम गर्ने निर्णय लिएकी थिइन्। “स्क्रिप्ट सुनेको २० मिनेटमै म चलचित्रमा अभिनय गर्न सहमत भएँ,” उनी भन्छिन्। “निर्देशक वसन्त निरौला र निर्माता अनीश अधिकारीबाट सम्पर्क भएपछि स्क्रिन प्ले निकै आकर्षक लाग्यो। पात्र पनि दमदार भएकाले म चाँडै निर्णयमा पुगेँ। पछि मात्रै थाहा भयो कि यसमा जितु नेपाल पनि हुनुहुन्छ।”

चलचित्रको कथा मुख्यतः आफ्नो पात्र वरिपरि केन्द्रित रहेको निति बताउँछिन्, “स्टोरी लाइनले मलाई निकै आकर्षित गर्‍यो। यसले मेरो पात्रलाई सशक्त रूपमा प्रस्तुत गरेको छ, जुन कारणले मैले यो चलचित्र गर्नुपर्ने महसुस गरेँ।”

केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको दृश्यको फुटेज टिकटकमा सार्वजनिक भएपछि चर्चामा रह्यो। त्यस दृश्यले दर्शकहरूबाट धेरै सकारात्मक प्रतिक्रिया पाएको निती बताउँछिन्। “रातो पहिरनमा रमाइरहेकी केटी कसरी अचानक त्यो परिस्थितिमा पुग्छिन् भन्ने कुरा सबैलाई चासोको विषय बन्यो। तर मैले बुझेँ, जीवनमा हुने सबै कुरा केही राम्रोका लागि नै हुन्छ,” उनी भन्छिन्।

फिल्ममा प्रष्ट नेपाली संवाद बोल्न नितीले निकै अभ्यास गर्नुपर्‍यो, “मेरा संवादमा ठेट नेपाली टोन समात्न निकै मेहनत गरेँ,” उनले भनिन्, “तर अझै पनि मैले धेरै सिक्न बाँकी छ।” नितीले फिल्ममा सहकार्य गरेका सह-कलाकार जितु नेपालको प्रशंसा गर्दै भनिन्, “जितु दाइ एकदमै सिनियर हुनुहुन्छ तर सेटमा कहिल्यै सिनियरिटीको भावना देखाउनु भएन। उहाँसँग काम गर्दा मलाई निकै सजिलो भयो। प्रमोसनका क्रममा उहाँको सङ्घर्षका कथा सुन्दा म एकदमै प्रेरित भएँ।”

निर्देशक वसन्त निरौलाको निर्देशनमा बनेको ‘ज्वाइँ साब’मा निती र जितुका साथमा बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल र दीपक आचार्यजस्ता कलाकारहरूको अभिनय देख्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu