काठमाडौँ। नेपालमा पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बलुन फेस्टिभलको गुडविल एम्बेस्डरमा महानायक राजेश हमाल र नायिका प्रियङ्का कार्की अनुबन्धित भएका छन्। काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई गुडविल एम्बेस्डरको रूपमा घोषणा गरिएको हो।
कार्यक्रममा हमालले २५ वर्षअघि काठमाडौँमा बलुनमा उडेर चलचित्रको सुटिङ गरेको स्मरण गर्दै यस फेस्टिभलले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। उनले नयाँ फिल्ममा बलुन नेपालको टिमसँग सहकार्यको सम्भावना रहेको पनि खुलासा गरे। प्रियङ्का कार्कीले आफू पोखरामा विभिन्न एड्भेन्चर गरिसकेको र बलुनमा उड्न पाउनु विशेष अनुभव हुने बताए। “म यो ऐतिहासिक फेस्टिभलको हिस्सा बन्न पाउँदा निकै गर्व महसुस गरिरहेकी छु,” उनले भनिन्।
बलुन नेपाल प्रालि र रिज्म्याटिक इन्टरटेन्मेन्टको सहकार्यमा आगामी पुस ९ देखि १६ गतेसम्म पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा यो महोत्सव आयोजना हुनेछ। महोत्सवमा नेपालसहित स्पेन, फ्रान्स, अमेरिका, युके लगायत २५ वटा देशका करिब ३० बलुन कम्पनीहरूको सहभागिता हुनेछ।
बलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले महोत्सवले पोखराको पर्यटनमा नयाँ आकर्षण थप्ने र आन्तरिक तथा विदेशी पर्यटकहरूको सङ्ख्यामा वृद्धि गराउने आशा व्यक्त गरे। महोत्सवमा बलुन उडानका साथै डिजे सेसन र राति बलुन ग्लो जस्ता कार्यक्रमहरू पनि मुख्य आकर्षणको रूपमा समावेश गरिनेछ।
बलुन नेपालले २०१८ देखि पोखराबाट हट एयर बलुन उडान सेवा प्रदान गर्दै आएको छ।