काठमाडौं। असोज १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ले बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ। शुक्रवार पनि राम्रो व्यापार गरेको यस चलचित्रले शनिवार देशभरका सिनेमा घरहरूमा आक्रामक व्यापार गरेको थियो। तीन दिनभित्रै चलचित्रले २ करोड २५ लाख भन्दा माथिको व्यापार गरेको वितरक श्रोतले जनाएको छ। उत्कृष्ट ‘वर्ड अफ माउथ’को कारण चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ, र आइतबार पनि यसको व्यापार जारी रहेको छ।
शनिवार चलचित्रको टिम दिनभर हल भिजिटमा व्यस्त थियो। हलमा आएका दर्शकहरूले चलचित्रकी मुख्य अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्कालाई आफ्नै कथा प्रस्तुत गरेकोमा धन्यवाद दिँदै भावुक भएर अँगालो हालेका थिए।
चलचित्रले दर्शकको राम्रो साथ पाएपछि मुख्य अभिनेता तथा निर्माता निश्चल बस्नेतले सबैलाई धन्यवाद दिँदै दसैँको माहौलमा परिवारसहित ‘बेहुली फ्रम मेघौली’ हेरेर उत्सव मनाउन आग्रह गरेका छन्।
चलचित्रले काठमाडौं उपत्यकामा मात्र नभई नारायणगढ, बुटवल, नेपालगञ्ज, इटहरी, धरान, विराटनगर, दमक, बिर्तामोड, पोखरा लगायतका ठूला सहरहरूमा पनि राम्रो व्यापार गरेको वितरक अशोक शर्माले जानकारी दिएका छन्।
चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ।
चलचित्रको लेखन तथा निर्देशन सजन काफ्ले र आकाश बरालले गरेका हुन् भने, स्वस्तिमा खड्कालाई निर्माणमा निश्चल बस्नेतले सघाएका छन्। कार्यकारी निर्माता फिरोज खड्का र शङ्कर पाण्डे हुन्।