काठमाडौं। दसैँको फूलपातीको दिन असोज २४ गतेदेखि विश्वव्यापी रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र ‘छक्का पञ्जा ५’ को ट्रेलर सार्वजनिक भएको छ। शनिवार अबेर सार्वजनिक गरिएको ट्रेलरमा नेपाली समाजका समसामयिक विषयहरूलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ।
ट्रेलरमा अभिनेता दीपकराज गिरी इमानदार सरकारी कर्मचारीको रूपमा देखिएका छन्। केदार घिमिरे ‘माग्ने बुढा’ पनि ‘छक्का पञ्जा’ सिरिजका अघिल्ला भागहरूमा झैँ हास्य प्रधान भूमिकामा गिरीको साथमा देखिन्छन्। अभिनेत्री वर्षा सिवाकोटी गिरीको चरित्रले छलछाम गरी विवाह गरेपछि समस्यामा परेको महिलाको भूमिकामा देखिन्छिन्।
यस चलचित्रमा दीपक राज गिरी केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, तेज गिरी, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउवाला गौतम, नवीन श्रेष्ठ, दमन रुपाखेती, लोकेन्द्र लेखक, निर्मल शर्मा लगायतको अभिनय रहेको छ। यस शृङ्खलामा अभिनेता आर्यन सिग्देलले केमियो भूमिका निर्वाह गरेका छन्।
चलचित्रको कथा/पटकथा दीपकराज गिरीले लेखेका छन् भने संवादहरू दीपकराज गिरी, केदारप्रसाद घिमिरे, र दिलीप तामाङले तयार पारेका छन्। चलचित्रको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन्। यसको कार्यकारी निर्माताहरूमा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्। निर्माता केशव न्यौपाने र दीपेन्द्र खनिया हुन्। डिओपी हरि हुमागाईँ हुन भने सिनेमाटोग्राफर उत्तम हुमागाईँ हुन्। यसको सम्पादन विपिन मल्लले गरेका छन् र पृष्ठभूमि सङ्गीत सुजिल कर्माचार्यले तयार पारेका छन्।
‘छक्का पञ्जा’ शृङ्खलाका अघिल्ला चार भाग सुपर हिट साबित भएका थिए। पाँचौँ शृङ्खलाले पनि सोही सफलता दोहोर्याउने अपेक्षा गरिएको छ।
ट्रेलर: