काठमाडौं। झापाकी श्रद्धा प्रसाईँले ‘बेहुली फ्रम मेघौली’को ‘वाच एन्ड विन’ योजनामा पहिलो दिनको विजेता बन्ने मौका पाएकी छिन्। अनलाइन माध्यमबाट क्युएफएक्सको टिकट काटेर रिलिजको पहिलो दिन बिहीबार चलचित्र हेरेकी श्रद्धालाई बिर्तामोडस्थित सिनेम्याक्स वानस्टप मलमा स्मार्टफोन प्रदान गरिएको हो।
चलचित्र ‘बेहुली फ्रम मेघौली’को निर्माण पक्षले दर्शकलाई आकर्षित गर्न ल्याएको यो योजनामा हरेक दिन एक जनाले मोबाइल जित्न सक्ने अवसर पाउँछन् भने ग्राण्ड पुरस्कार स्वरूप २ लाख ७७ हजार रुपैयाँ पर्ने इलेक्ट्रिक स्कुटर जित्न सकिनेछ।
यो योजना पहिलो सातासम्म लागू हुनेछ, जसमा सहभागी हुन चाहने दर्शकले अनिवार्य रूपमा क्युएफएक्सको अनलाइन माध्यम (खल्ती एप अथवा क्युएफएक्सको वेबसाइट) प्रयोग गरेर टिकट काट्नुपर्नेछ। हलमै गएर काटेको टिकट मान्य नहुने नियम लागू गरिएको छ।
‘बेहुली फ्रम मेघौली’ले पहिलो दिन देशभरका ३३५ भन्दा धेरै शो पाएको थियो। सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेको यो चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, शिशिर सिवाकोटी, लोकेन्द्र लेखक लगायतका कलाकारहरूको अभिनय रहेको छ।
यस चलचित्रले देशैभर सफलतापूर्वक व्यापार गरिरहेको छ।