सामाजिक सञ्जालमा चलचित्रका सामग्रीको अनधिकृत प्रयोग नगर्न बोर्डको चेतावनी



काठमाडौं। चलचित्र विकास बोर्डले हाल सामाजिक सञ्जालमा नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरू (क्लिप) अनधिकृत रूपमा अपलोड गर्ने गतिविधि बढ्दै गएको भन्दै कडा चेतावनी दिएको छ। बोर्डले सोमबार एक सूचना जारी गर्दै यस्तो क्रियाकलापले नेपाली चलचित्र उद्योगलाई आर्थिक र सृजनात्मक क्षति पुर्‍याइरहेको उल्लेख गरेको छ।

सूचनामा सामाजिक सञ्जालमा अनधिकृत रूपमा चलचित्रका सामग्री अपलोड गर्नु कानुनी अपराध भएको जनाइएको छ। चलचित्र विकास बोर्डले प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ को प्रावधान अनुसार यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गरिने चेतावनी दिएको छ। ऐन अनुसार अनधिकृत रूपमा सामग्री प्रयोग गरेमा दोषीलाई जरिवाना, क्षतिपूर्ति, तथा कैदको सजाय भोग्नुपर्ने उल्लेख गरिएको छ।

बोर्डले विशेष रूपमा सिनेमा निर्माणमा लाग्ने ठूलो मिहिनेत र लगानीको सम्मान गर्नुपर्नेमा जोड दिएको छ। साथै, चलचित्रका अंशहरू अनधिकृत रूपमा शेयर तथा अपलोड गर्ने कार्यले चलचित्रको आर्थिक सम्भावनामा नकारात्मक प्रभाव पार्ने भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको छ।

पछिल्लो समय प्रदर्शनरत चलचित्र ‘बेहुली फ्रम मेघौली’को क्लाइमेक्स सहितका क्लिपहरू तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चलचित्र ‘ज्वाइँ साब’ सुटिङको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि यो सूचना जारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu