म जबरजस्ती हिरो बनेको होइन: जितु नेपाल



काठमाडौं। जितु नेपाल नेपाली कलाकारिता क्षेत्रमा नयाँ होइनन्, तर चलचित्रको ‘हिरो’को रूपमा भने उनीसँग लामो अनुभव छैन। विभिन्न टेलिसिरियलमा प्रमुख अभिनय गर्ने उनी चलचित्रमा भने सानो सानो भूमिकामा अभिनय गर्थे। जब चलचित्र दीपक-दिपाको समूहले चलचित्र बनाउने निर्णय गर्‍यो तब जितु पनि अभिनेतामा प्रमुख भूमिकामा उदाए।

जितु प्रमुख भूमिकामा रहेता पनि उनले एक्लै भने चलचित्रमा लिड गरेनन्। उनले समूहगत रूपमा दीपकराज गिरी, केदार घिमिरे, शिवहरि पौडेल लगायतसँग स्क्रिन शेयर गरे। जितिले ‘छ एकान छ’, ‘वडा नम्बर छ’ र ‘छक्का पञ्जा’का तीन वटा चलचित्रमा समूहगत तर प्रमुख भूमिकामा अभिनय गरे। उनले एक्लै लिड गरेको चलचित्र भने ‘ह्यारीकी प्यारी’ थियो। पछिल्लो समय उनले चलचित्र ‘ज्वाइँ साब’मा अभिनय गरेका छन्, जुन असोज २४ गते रिलिज हुँदैछ।

‘ज्वाइँ साब’मा नायिका नीति शाहको जोडी बनेर उनी दर्शकमाझ आउँदै छन्। जितुले यो चलचित्रमा अभिनय गर्न एक पटक प्रस्ताव अस्वीकार गरेका थिए। “पहिला स्क्रिप्ट पढ्दा धेरै कुराहरू स्पष्ट थिएनन्, तर दोस्रो पटक स्क्रिप्ट पढ्दा कथा मज्जाको लाग्यो,” जितुले भने। जितु चलचित्रमा आफूले निभाएको पात्रको बारेमा भन्छन्, “मेरा पात्रले जे खोज्छ, त्यो उसले पाउँदैन र अन्ततः त्यही नपाएको कुरासँग नै फेरि सम्बन्धित हुन्छ।”

चलचित्रको टिजर र गीतमा जितुलाई बेहुला बनेर बेहुलीको घर भित्र्याइएको देखाइएको छ, जुन परिदृश्य उनको लागि नौलो अनुभव हो। साधरणतया बेहुलीलाई बेहुलाको घरमा भित्र्याइन्छ, तर यो चलचित्रमा उल्टो देखाइएको छ, जसले दर्शकलाई रोचक लाग्न सक्छ।

केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको चलचित्रको एउटा दृश्य भाइरल भएको थियो, जसमा जितु हातमा पासपोर्ट र नानी बोकेर भावुक मुद्रामा देखिन्छन्, भने नायिका नीति शाह सेतो ब्लाउज र हरियो साडीमा नेपाली राष्ट्रिय झन्डा बोकेर देखिन्छिन्। यो दृश्यलाई धेरैले चलचित्र प्रमोसनको ‘फण्डा’ भने पनि जितुले यसलाई अस्वीकार गरेका छन्। “यो क्लिप हामीले प्रमोसनका लागि सार्वजनिक गरेका होइनौँ,” जितुले स्पष्ट पारे।

जितुले चलचित्रको कथालाई सरल र दर्शकका लागि रमाइलो भएको बताए। “चलचित्रको कथा सामान्य लाग्न सक्छ, तर यसमा हाम्रो समाजमा हुने घटनाहरू समेटिएको छ, जसले आम दर्शकलाई फरक अनुभव दिन्छ,” उनले भने। उनका अनुसार चलचित्रमा सोसियल कमेडी छ र कथा सरर बगेको छ, जसले दर्शकलाई दिक्क लाग्ने कुनै पनि कुरा समावेश गरेको छैन।

जितुले आफूलाई ‘जबरजस्ती हिरो’ नबनेको भन्दै, “म कहिल्यै हिरो हुने आशा गरेको थिइनँ, तर यस चलचित्रमा मलाई सुहाउने पात्रका लागि छानिएकोले अभिनय गरेँ,” भने। उनले यो चलचित्र आफ्नो करियरको लागि कोशेढुंगा साबित हुने आशा व्यक्त गरेका छन्।

वसन्त निरौलाद्वारा निर्देशित ‘ज्वाइँ साब’मा जितु नेपालसँगै नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu