काठमाडौं। यस वर्षको फूलपातीको दिन (असोज २४ गते) रिलिज हुने नेपाली चलचित्र ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक गरिएको दुई मिनेट ५६ सेकेन्डको यो ट्रेलरमा हास्य सँगै भावनात्मक पीडा पनि देखाइएको छ।
चलचित्रका मुख्य पात्र जितु नेपाल वरपर घुमेको ट्रेलरमा, बुवाले आफ्नो विवाह नगरी आफूले विवाह गरेपछि आक्रोशित बनेका जितुको विवाहको यात्रालाई प्रमुखता दिइएको छ। ट्रेलरमा उनले विवाह गर्न नायिका नीति शाहसँगको विभिन्न चुनौतीपूर्ण प्रतिस्पर्धामा भाग लिएको दृश्य प्रस्तुत गरिएको छ। उक्त प्रतिस्पर्धामा भारी बोक्ने, चिया पकाउने, र लुगा धुनेजस्ता दृश्यहरू समेटिएका छन्। ट्रेलरको अन्त्यमा एयरपोर्टको दृश्य राखिएको छ, जहाँ जितु र नीतिलाई बच्चाको साथमा देखाइएको छ।
राजकुमार पण्डितको प्रस्तुति रहेको चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका हुन्। यसमा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, र ईशान राउतको अभिनय रहेको छ।
‘रेड आइ फिल्म्स’को ब्यानरमा निर्मित यो चलचित्रमा समीर पण्डित, सौगात पण्डित, र पदमलाल तामाङले लगानी गरेका छन्। विजय बस्याल कार्यकारी निर्माता हुन् भने शङ्कर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायाङ्कन, सञ्जय थापाको एक्सन निर्देशन र अर्जुन पोखरेल तथा महेश ताम्राकारको सङ्गीत रहेको छ।
ट्रेलर: