काठमाडौं। निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत प्रतीक्षित नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ले घटस्थापनाको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरेको छ। नेपालभर सर्वाधिक ३३५ शो पाउने इतिहास बनाएको यस चलचित्रले दर्शकहरूमा बेग्लै उत्साह थपेको छ।
चलचित्र रिलिज भएसँगै हलहरूमा दर्शकको चाप बढेको छ। बुधवार साँझ भक्तपुरस्थित क्युएफएक्स हलमा आयोजित प्रिमियरमा चलचित्र उद्योगका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। अभिनेता हरिवंश आचार्यले स्वस्तिमा खड्काको उत्कृष्ट अभिनय र क्लाइमेक्सको प्रशंसा गरेका छन् भने अभिनेत्री निरुता सिंहले यसलाई मनोरञ्जनात्मक र सन्देशमूलक चलचित्रको रूपमा व्यक्त गरेकी छन्। अभिनेता केदार घिमिरेले नेपाली बजारलाई लक्षित गरिएको चलचित्र भन्दै सकारात्मक प्रतिक्रिया दिए भने सलोन बस्नेतले पनि फिल्मको प्रशंसा गरे।
प्रिमियरमा निर्देशकहरू अशोक शर्मा, दीपेन्द्र के. खनाल, रेनशा बान्तवा राई, प्रदीप भट्टराई, शोभित बस्नेत, र अभिनेता/अभिनेत्रीहरू प्रियङ्का कार्की, आना शर्मा, आशीर्वाद क्षेत्री, आयुष्मान जोशी लगायतका सेलिब्रेटीहरूको उपस्थिति थियो।
शुक्रवारदेखि चलचित्रले हलिउडको चर्चित फिल्म ‘जोकर: फोली ए ड्युक्स’सँग बक्स अफिसमा प्रतिस्पर्धा गर्नुपर्नेछ।
‘बेहुली फ्रम मेघौली’ले हास्य शैलीमा एक ३० वर्ष पुगेकी छोरीको विवाहको कथा प्रस्तुत गरेको छ। नेपाली समाजमा रहेको परम्परागत विवाह प्रथासँग सम्बन्धित विभिन्न परिस्थिति र हाँसो मिसिएको पारिवारिक कथा फिल्मको मुख्य आकर्षण हो।