काठमाडौं । असोज १७ बाट प्रदर्शनमा आउने चलचित्र ‘बेहुली फ्रम मेघौली’ले नेपालमा इतिहासकै सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ। वितरक अशोक शर्माले दिएको जानकारी अनुसार, यो चलचित्रले काठमाडौंभित्र र बाहिरका मल्टिप्लेक्स र सिङ्गल थिएटरहरूमा कुल ३३५ शो प्राप्त गरेको छ।
शर्माका अनुसार, यो सङ्ख्या अहिलेसम्म कुनै पनि ठूला ब्यानरका र पपुलर ब्रान्डका चलचित्रले पाउन सकेको थिएन। स्वस्तिमा खड्का र निश्चल बस्नेत मुख्य भूमिकामा रहेका यस चलचित्रमा उनीहरूको समेत लगानी रहेको छ। चलचित्रको लेखन तथा निर्देशन सजन काफ्ले र आकाश बरालले गरेका छन्।
‘बेहुली फ्रम मेघौली’मा निश्चल र स्वस्तिमासँगै वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, टीका पहारीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। यो चलचित्र उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहको लागि दिने दबाब र त्यसका कारण उत्पन्न परिस्थितिको कथामा आधारित छ।
ब्ल्याक हर्ष पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा विजय बराल कास्टिङ डिरेक्टर रहेका छन्। नरेन्द्र मैनालीको छायाङ्कन, प्रदीप लामा र केबीका खत्रीको कोरियोग्राफी, जयन जे वाइबा र कुशल पोखरेलको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन र घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन रहेको छ। चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन्।