काठमाडौं। जितु नेपाल र नीति शाहको प्रमुख भूमिका रहेको चलचित्र ‘ज्वाइँ साब’ असोज २४ गते फूलपातीको दिन रिलिज हुने तयारीमा छ। हालै यसको एक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा जितु नेपाललाई गोवर्धन पण्डितको रूपमा चित्रण गरिएको छ। वृद्ध पात्रको रूपमा देखिएका उनलाई चस्मा र लामो दाह्रीसहित परम्परागत नेपाली पहिरनमा प्रस्तुत गरिएको छ, जसले उनको चरित्रलाई गम्भीर बनाएको छ।
यो पोस्टरले चलचित्रको प्रमुख पात्र र रिलिज मितिको जानकारी दिनुका साथै कथा र हास्य-नाटकीय पृष्ठभूमिबारे झल्को दिन्छ। हल्का गुलाबी र रङ्गिन पताकाहरूको प्रयोगले चलचित्रमा केही हास्य तत्त्वहरूको सङ्केत दिएको छ। यसअघिका प्रचार सामग्रीहरूमा जितुलाई जवान लुकमा राखिएको थियो तर, यो पोस्टरमा उनी वृद्ध देखिनुले चलचित्रमा केही ट्विस्ट रहेको अनुमान गरिएको छ।
फिल्मका प्रस्तुत कर्ता राजकुमार पण्डित र कार्यकारी निर्माता हुन् भने निर्देशन वसन्त निरौलाले गरेका छन्। चलचित्रमा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायत कलाकारको अभिनय देख्न पाइनेछ।