नेपाली कलाकारहरूको इथियोपिया यात्रा, ‘ओरोमिया टुरिजम वीक’मा नेपालको कला देखाइने



काठमाडौं। आधा दर्जन नेपाली कलाकारहरू ‘ओरोमिया टुरिजम वीक’ मा सहभागिता जनाउन आइतबार मध्यरात इथियोपिया पुगेका छन् । यो यात्रा नेपाली कलाकारहरूको अन्तर्राष्ट्रिय उपस्थिति तथा नेपालको सांस्कृतिक सम्पदाको प्रवर्धनका लागि महत्त्वपूर्ण मानिएको छ ।

धौलागिरि एड्भेन्चर ट्राभल्स एन्ड ट्रेक प्राइभेट लिमिटेडका अध्यक्ष आङ कामी शेर्पाको नेतृत्वमा यो टोलीले इथियोपिया यात्रा गरेको हो । टोलीमा गायक अजित घिसिङ तामाङ, अभिनेत्री बिना राउत, नृत्य कलाकार मदन भण्डारी, अभिनेता सरोज प्रजा, र नृत्य कलाकार निमा कुमारी स्याङ्तान छन् ।

आइतबार राति ओरोमियामा नेपाली कलाकारहरूको भव्य स्वागत गरिएको थियो । अन्तर्राष्ट्रिय लेखक हाम्जा वोरियो, ओरोमिया टुरिजम कमिसनका कमिस्नर लेलिसा ढुङ्गा, र अन्य सरकारी अधिकारीहरूले टोलीलाई स्वागत गरे । नेपाली कलाकारहरूलाई ‘ओरोमिया टुरिजम वीक’ मा सहभागी गराउन निमन्त्रणा दिइएको थियो ।

गायक अजित घिसिङले इथियोपियाको सरकारले नेपाली कलाकारहरूलाई पर्यटन सप्ताहमा निमन्त्रणा गरेकोमा आभार प्रकट गर्दै दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई यसले अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

सेप्टेम्बर २५ देखि अक्टोबर १० सम्म सञ्चालन हुने ‘ओरोमिया टुरिजम वीक’ ओरोमिया टुरिजम कमिसन र इथियोपियाको पर्यटन मन्त्रालयको संयुक्त आयोजना हो । यूनेस्कोबाट मान्यता प्राप्त यो महोत्सव पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदान–प्रदानलाई प्रवर्धन गर्ने लक्ष्य राख्छ ।

महोत्सवमा नेपाली कलाकारहरूले नेपालका सांस्कृतिक नृत्य र परम्परागत कलाका विविध प्रस्तुति दिनेछन् । यसले नेपाली कला र संस्कृतिलाई विश्वभर परिचित गराउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यस सांस्कृतिक कार्यक्रमका आधिकारिक सदस्यहरूमा आङ कामी शेर्पा, उर्गिन मिङ्गुम तामाङ, गीता कुमारी शाही, र स्मारिका शाही रहेका छन् । यी सदस्यहरूले इथियोपियामा नेपाललाई प्रतिनिधित्व गर्दै नेपालको सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu