‘बेहुली फ्रम मेघौली’को एडभान्स बुकिङ खुल्यो, शानदार ओपनिङको मौका



काठमाडौं। नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ बिहीबार घटस्थापनाका दिन प्रदर्शनमा आउँदै छ । यस चलचित्रको लागि सोमबारदेखि नै चलचित्र हलहरूले एडभान्स बुकिङ खुला गरेका छन् । अभिनेत्री स्वस्तिमा खड्काले निर्माण गरेको यो पहिलो चलचित्रले शानदार ओपनिङ पाउने मौका बलियो बनाएको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले चलचित्रका लागि देशभर ७३ शोको व्यवस्था गरेको छ, जसमा काठमाडौं उपत्यकामा ३२ शो र मोफसलमा ४१ शो समेटिएका छन् । त्यस्तै, आइएनआई सिनेमाजले काठमाडौंका दुई हल र बुटवलमा १४ शोका लागि बुकिङ खोलिएको छ भने वान सिनेमाजले नयाँ बानेश्वर र कालीमाटीमा ९ शो तय गरेको छ । बिग मुभिजले ६ शो र एफक्युबले ७ शो उपलब्ध गराएका छन् ।

केही हलहरूमा अझै अग्रिम बुकिङ खुल्न बाँकी रहेकाले पहिलो दिन चलचित्रले दुई सयभन्दा बढी शो पाउने अपेक्षा गरिएको छ । चलचित्रलाई साजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गरेका छन्, र यो उनीहरूको निर्देशनमा बनेको पहिलो फिल्म हो ।

चलचित्रमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम र टीका पहारीको अभिनय रहेको छ । कथावस्तुले विवाहका लागि परिवार र समाजले युवतीहरूमाथि गर्ने दबाब र त्यसबाट उत्पन्न हुने समस्याहरूलाई उठाएको छ ।

ब्ल्याक हर्ष पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रका कार्यकारी निर्मातामा फिरोज खड्का र शङ्कर पाण्डे छन् । चलचित्रको कास्टिङ निर्देशक विजय बराल हुन्, भने नरेन्द्र मैनालीको छायाङ्कन, प्रदीप लामा र केबीका खत्रीको कोरियोग्राफी, जयन जे वाइबा र कुशल पोखरेलको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu