यस वर्षको दादा साहेब फाल्के पुरस्कार अभिनेता मिथुन चक्रवर्तीलाई दिइने



काठमाडौं। प्रख्यात भारतीय अभिनेता मिथुन चक्रवर्तीलाई यस वर्षको दादा साहेब फाल्के पुरस्कारबाट सम्मानित गरिने भएको छ । ८ अक्टोबरमा हुने ७० औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा उनलाई यो सम्मान प्रदान गरिने घोषणा भएको भारतीय मिडियाहरूले जनाएका छन् । यसबारे केन्द्रीय मन्त्री अश्विनी वैष्णवले ३० सेप्टेम्बरमा औपचारिक रूपमा घोषणा गरेका हुन् । 

मिथुन चक्रवर्तीले आफ्नो चलचित्र यात्रा सन् १९७६ मा मृणाल सेनको चलचित्र “मृगया”बाट सुरु गरेका थिए । उक्त चलचित्रमा उत्कृष्ट अभिनयका लागि उनले पहिलो नेशनल अवार्ड प्राप्त गरेका थिए । सन् १९८२ मा रिलिज भएको फिल्म “डिस्को डान्सर” ले उनलाई विश्वव्यापी पहिचान दिलायो । यो चलचित्र भारतको पहिलो १०० करोड कमाउने चलचित्र बनेको थियो । करियरको सुरुवातदेखि नै मिथुन आफ्नो बहु आयामिक अभिनयका लागि चर्चित रहँदै आएका छन् । 

उनलाई तीन पटकसम्म नेशनल अवार्ड प्राप्त भइसकेको छ । “मृगया” बाहेक सन् १९९३ मा “तहादेर कथा” र १९९६ मा “स्वामी विवेकानन्द” फिल्मका लागि पनि उनले यो प्रतिष्ठित पुरस्कार प्राप्त गरेका थिए । 

मिथुनले बङ्गाली, हिन्दी, तमिल, तेलुगु, कन्नड, ओडिया र भोजपुरी गरी ३५० भन्दा बढी फिल्महरूमा काम गरेका छन् । उनी ८० र ९० को दशकमा भारतका सर्वाधिक पारिश्रमिक प्राप्त गर्ने अभिनेतामध्ये एक थिए । हालसालै मिथुनलाई २०२४ मा पद्मश्री पुरस्कारबाट पनि सम्मानित गरिएको थियो । 

यसअघि, दादा साहेब फाल्के पुरस्कारको सम्मान सन् २०२३ मा अभिनेत्री वहीदा रहमानलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu