रैथाने नृत्य संरक्षणका लागि कलाकारहरूको आह्वान



काठमाडौं। नेपालमा करिब ८ सय वटा रैथाने नृत्यहरू रहेका कारण ती नृत्यहरूको संरक्षणका लागि कलाकारहरूले आह्वान गरेका छन् । राष्ट्रिय नृत्य सङ्घ नेपालले आयोजना गरेको तीन दिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत् सांस्कृतिक सङ्गोष्ठी २०८१’मा कलाकारहरूले यस्ता नृत्यहरूको संरक्षणको आवश्यकता औँल्याए ।

नेपालका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापाले देशभरका रैथाने नाचहरू जोगाउन महत्त्वपूर्ण भएको बताए । उनले नाचघरमा नृत्य निर्देशकको रूपमा रहँदा देशका विभिन्न नाचहरूको संरक्षणमा भूमिका खेलेको स्मरण गरे । तीन दिनसम्म चलेको कार्यशालामा देशभरका ६ दर्जनभन्दा बढी कलाकारहरूले राई समुदायको साकेला र मगर समुदायको जिवैमामा नृत्यमा प्रशिक्षण प्राप्त गरे ।

समारोहमा शिक्षाविद् विधानाथ कोइराला, आदिवासी जनजाति महासङ्घका अध्यक्ष रामबहादुर थापा, सांसद शान्ति मोदी र रेणु शाह, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, थारु नृत्य विशेषज्ञ नन्दु चौधरी, र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली लगायतले रैथाने लोकनृत्यहरूको संरक्षणका लागि सरकार र स्थानीय निकायहरूको ठोस भूमिका हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय नृत्य सङ्घ नेपालका अध्यक्ष महेश गोदारले कार्यक्रममा व्यक्त विचारहरूलाई प्रतिवेदनका रूपमा तयार गरी नेपाल सरकारलाई बुझाइने जानकारी दिए । साथै, उनले यो तीन दिवसीय कार्यशाला अपेक्षाभन्दा उत्कृष्ट भएको र यसले रैथाने नृत्यहरूको संरक्षणमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu