अस्कर कलेजले २० वर्षमुनिका उमेर समूहलाई लक्षित गरी लघु चलचित्र प्रतिस्पर्धा गर्ने



काठमाडौं। नेपालको पहिलो फिल्म अध्ययन कलेज, अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले दोस्रो ‘युवा शर्ट फिल्म प्रतिस्पर्धा’को आह्वान गरेको छ । कलेजले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनाअनुसार, यो प्रतिस्पर्धा २० वर्षमुनिका उमेर समूहलाई लक्षित गरिएको छ, जसमा सहभागीहरूले कार्तिक ५ गतेभित्र आफ्नो चलचित्र पठाइसक्नुपर्नेछ ।

कलेजका प्रधानाध्यापक रामराजा दाहालले फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्ने उद्देश्यले यो प्रतिस्पर्धा आयोजना गरिएको बताएका छन् । उनका अनुसार, “फिल्म अत्यन्त सिर्जनात्मक विधा हो, र युवाहरूको मस्तिष्क सृजनशील हुने भएकाले, हामीले युवालक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरी उनीहरूलाई सहयोगसमेत गर्न पहल गरेका हौँ ।” उनले युवा फिल्ममेकरहरूमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा नयाँ पुस्ता तयार हुने विश्वास व्यक्त गरे ।

प्रतिस्पर्धामा ८ देखि १५ मिनेट अवधिका फिल्महरू छनोट गरिने छन्। प्रथम हुने फिल्मलाई १ लाख नगद पुरस्कार दिइनेछ भने दोस्रो र तेस्रो स्थानमा आउने फिल्महरूले क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, प्रथम, द्वितीय, र तृतीय हुने फिल्ममेकरहरूले अस्कर कलेजमा भर्ना हुँदा ५० प्रतिशत छात्रवृत्तिको सुविधा पाउने छन् । 

त्यसै गरी, स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरहरूले पनि कलेजमा भर्ना हुँदा ५० प्रतिशत छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ । प्रतिस्पर्धाका विजेताहरूको घोषणा कार्तिक ९ गते गरिनेछ, र उनीहरूले निर्माण गरेका फिल्महरूको प्रदर्शनीसमेत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu