‘बेहुली फ्रम मेघौली’लाई केवल नारी प्रधान भन्दै सीमित वर्गमा मात्र नसम्झौँ: स्वस्तिमा



काठमाडौं। ‘बेहुली फ्रम मेघौली’ यस वर्षको प्रतीक्षित नेपाली चलचित्र हो । मुख्य भूमिकामा निश्चल बस्नेत र स्वस्तिमा खड्काको उपस्थिति मात्रले पनि यस चलचित्रलाई दर्शकबिच ठूलो उत्सुकता पैदा गरेको छ । स्वस्तिमा खड्काको लागि यो चलचित्र विशेष महत्त्व राख्छ, किनकि यसमार्फत उनी आफ्नो निर्माण डेब्यू गर्दैछिन् । यसैले पनि चलचित्रको प्रचारप्रसारमा उनी विशेष सक्रियता देखाइरहेकी छन् ।

खड्काका अनुसार ‘बेहुली फ्रम मेघौली’ एक नारी प्रधान चलचित्र हो तर, यो परम्परागत नारी प्रधान चलचित्रको जस्तो गम्भीर, रोनाधोनायुक्त कथा भने होइन । चलचित्रको केन्द्रमा रहेको नारी पात्रले समाजले उसको विवाहको लागि दिइरहेको दबाबलाई मज्जाले चिर्ने प्रयास गर्छिन् ।

निर्देशक द्वय साजन काफ्ले र आकाश बरालले स्वस्तिमालाई जब स्क्रिप्ट दिए, त्यो बेला नारी प्रधान भन्ने कुराले उनको मनमा पनि गम्भीर र दुःखद चलचित्रको छवि बनाएको थियो । तर, स्क्रिप्ट पढेपछि उनले महसुस गरिन् कि यो चलचित्र रमाइलो र दर्शकलाई भरपुर मनोरञ्जन दिने खालको छ ।

स्वस्तिमा भन्छिन्, ‘सुरुमा नारी प्रधान चलचित्र भनेर भनिएको थियो । यसले गर्दा मैले पनि रोनाधोनायूक्त र दुःखद कथा होला भनेर सोचेँ । तर स्क्रिप्ट पढेपछि, यो एकदमै रमाइलो कथा बोकेको व्यावसायिक चलचित्र रहेछ । यसले दर्शकलाई हँसाउनेछ र उनीहरूलाई केही महत्त्वपूर्ण कुरा पनि सन्देशका रूपमा दिन्छ ।’

उनले दर्शकलाई आग्रह गर्दै भनेकी छन्, ‘यो चलचित्र अन्य नारी प्रधान चलचित्रभन्दा फरक छ । यो परिवारसँग बसेर हेर्ने, मनोरञ्जनात्मक र सन्देशमूलक चलचित्र हो । यसलाई केवल नारी प्रधान भन्दै सीमित वर्गमा मात्र नसम्झौँ ।’

चलचित्रले एक अविवाहित ३० वर्षकी महिलालाई परिवार र समाजबाट आउने विवाहको दबाबलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ । स्वस्तिमा जस्तै निश्चल बस्नेतले पनि यो चलचित्र पारिवारिक र सबै उमेरका दर्शकलाई मन पर्ने खालको रहेको बताएका छन् । 

‘बेहुली फ्रम मेघौली’ घोषणादेखि नै दर्शकको ध्यान आकर्षण गर्न सफल भएको छ । यसको हालसम्म सार्वजनिक भएका प्रचार सामग्रीले चलचित्र प्रेमीलाई निकै उत्साहित बनाएको छ । विशेष गरी ‘छड्के सलाम’ गीतले टिकटक र युट्युबमा राम्रो चर्चा बटुलिरहेको छ । त्यस्तै, ‘उडायो मन’ गीतले पनि युवतीहरूको मन जितेको छ, जसको प्रमाण टिकटकमा बनेका भिडियोहरूको सङ्ख्या हो ।

यो चलचित्र घटस्थापनाको अवसरमा रिलिज हुँदैछ, र यसले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गरिएको छ । निश्चल र स्वस्तिमाका अलावा चलचित्रमा वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । यो चलचित्र ब्ल्याक हर्ष पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको हो । निर्माता स्वस्तिमा खड्कालाई उनका श्रीमान् निश्चल बस्नेतले सघाएका छन् भने कार्यकारी निर्माता फिरोज खड्का र शङ्कर पाण्डे हुन् । 

चलचित्रमा छायाङ्कन नरेन्द्र मैनाली, सम्पादन निमेष श्रेष्ठ, र सङ्गीत जयन जे वाइबा र कुशल पोखरेलले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu