काठमाडौं। केही दिनयताको लगातारको झरी, बाढी पहिरो र डुबानले नेपालको मनोरञ्जन क्षेत्रमा ठूलो प्रभाव पारेको छ, जसले फिल्म निर्माताहरूलाई लाखौँको आर्थिक नोक्सान पुर्याएको छ । यद्यपि आइतबार काठमाडौं लगायतका मुख्य सहरमा पानी नपर्दा चलचित्र क्षेत्रले पुनः गति लिने आशा देखिएको छ ।
चलचित्र ‘बेहुली फ्रम मेघौली’को प्रचारप्रसारको लागि चितवन निस्किएका अभिनेता निश्चल बस्नेत र विजय बरालको टोली पनि पहिरोले राजमार्गमा अलपत्र पर्यो । यस्तै, पोखराबाट काठमाडौं जाँदै गरेको शिल्पी नाटक घरको समूह पनि नागढुंगा क्षेत्रको पहिरोका कारण लामो समय बाटोमै फसेको थियो ।
चलचित्र ‘सानो संसार’का निर्माताहरूले झरीका कारण आइतबारदेखि चलचित्रको प्रदर्शन स्थगित गर्नुपरेको छ । उनीहरूले उपयुक्त समयमा फिल्म पुनः रिलिज गर्ने योजना बनाइरहेको जनाएका छन् । यस्तै, प्रदीप खड्काको फिल्म ‘एक्लो’को च्यासलस्थित सेट डुबानमा पर्दा सामग्री बिग्रिएको र निर्मातालाई ठूलो नोक्सान भएको छ । केही दिन अघि यो चलचित्रको मुस्ताङमा रहेको छायाङ्कन सेट पनि बाढीले बगाएको थियो ।
दक्षिण भारतीय चलचित्र ‘ज्याक’को काठमाडौंमा भइरहेको छायाङ्कन पनि लगातार दुई दिनदेखि रोकिएको छ, जसले यसका निर्मातालाई ठूलो आर्थिक भार थपेको छ । साथै, लोकप्रिय नेपाली फिल्म ‘छक्का पञ्जा ५’को बाँकी छायाङ्कन पनि झरीका कारण स्थगित भएको बताइएको छ ।
वरिष्ठ चलचित्र प्राविधिक सन्तु तामाङको काभ्रेस्थित घर बाढी पहिरोले भत्काएको छ, जसले उनको व्यक्तिगत र व्यावसायिक जीवनमा ठुलो क्षति पुर्याएको छ ।
यस वर्षको झरीले चलचित्र उद्योग मात्र नभएर दर्शकहरूको उपस्थिति पनि कम गरेको छ । ‘सानो संसार’ र ‘आँखा’ जस्ता चलचित्रहरूको ओपनिङ प्रभावित हुँदा हलमा दर्शकको उपस्थिति न्यून रहेको छ । त्यस्तै नेपालमा शनिवार मात्र रिलिज भएको भारतीय चलचित्र ‘देवरा’मा पनि दर्शकको सङ्ख्या अपेक्षित देखिएन । भक्तपुरको राधे राधे क्षेत्रमा डुबान हुँदा भाटभटेनी सुपर मार्केटको माथिल्लो तल्लामा रहेको क्यूएफएक्स सिनेमा हल बन्द रहेको छ ।
लगातारको झरीका कारण केही फिल्मका प्रचारप्रसार कार्यक्रमहरू र पत्रकार सम्मेलनहरू पनि स्थगित गरिएका छन् ।