चलचित्र ‘जेरी अन टप’मा केदार घिमिरेको प्रवेश, अनमोल केसीसँग पहिलो सहकार्य



काठमाडौं। अनन्या फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘जेरी अन टप’मा चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) अनुबन्धित भएका छन् । शुक्रवार निर्माता सरोज न्यौपानेले घिमिरेसँग व्यावसायिक सम्झौता गरेका हुन् । यस चलचित्रमार्फत केदार घिमिरेले स्टार अभिनेता अनमोल केसीसँग पहिलो पटक सहकार्य गर्नेछन् ।

चलचित्र पर्दामा धेरै देखिन नसक्ने केदार घिमिरेले ‘जेरी अन टप’को स्क्रिप्टमा काम गर्न सहमति जनाउनु महत्त्वपूर्ण मानिएको छ । नेपाली मनोरञ्जन क्षेत्रमा ठूला र साना पर्दामा समान रूपमा लोकप्रिय घिमिरेलाई अनुबन्ध गर्नु आफ्नो लागि गर्वको कुरा भएको निर्माता न्यौपानेले बताएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै निर्माता न्यौपानेले लेखेका छन्, “एकाध चलचित्र बाहेक ठूला पर्दामा बिरलै देखिने, हास्य रसका पर्यायवाची अद्भुत कलाकार केदार घिमिरेलाई हाम्रो टिममा स्वागत गर्न पाउँदा खुसी छौँ ।” यस पोस्टले केदार घिमिरेलाई चलचित्रमा विशेष भूमिकाको लागि चयन गरिएको स्पष्ट गर्दछ ।

निर्माता न्यौपानेले चलचित्रको कथावस्तु समसामयिक हुनु र प्रस्तुतिले नयाँ स्वाद दिनु पर्छ भन्ने धारणा राख्दै, “म चलचित्र निर्माणमा प्रयोग गर्न होइन, नेपाली दर्शकको रुचि र मनोभावनालाई ध्यानमा राख्दै केही नयाँ र भिन्न स्वाद दिन आएको हुँ,” भनेका छन् ।

सुयोग गुरुङको निर्देशनमा बन्ने यो चलचित्र छिट्टै फ्लोरमा जान लागेको छ । यसअघि नै अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ र सुरक्षा पन्त प्रमुख कलाकारको रूपमा अनुबन्धित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu