चलचित्र ‘झिल्को: द स्पार्क’को फस्ट लुक सार्वजनिक, ग्याजेट दुर्व्यसनीको कथा



काठमाडौं। ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको नयाँ चलचित्र ‘झिल्को: द स्पार्क’ को फस्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले आगामी पुस ५ गतेदेखि देशभर प्रदर्शनमा आउने घोषणा गरेका छन् ।

पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल, र आयुषी ढकाललाई देखाइएको छ । पोस्टरले ग्याजेट दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार तथा समाजमा पार्ने प्रभावलाई विषयवस्तु बनाएको सङ्केत गरेको छ ।

निर्देशक भट्टराईले जारी गरेको विज्ञप्तिमा ‘झिल्को’ लाई डिजिटल युगमा बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्मलाई गाँजिरहेको मोबाइल दुर्व्यसनको कथामा बनेको चलचित्र भनेर परिभाषित गरेका छन् । चलचित्रले मोबाइल ग्याजेटको कुलतमा फसेको एउटा परिवारले भोग्नुपरेको सङ्घर्षलाई सामाजिक तथा व्यावसायिक कोणबाट प्रस्तुत गर्ने प्रयास गरेको छ ।

‘झिल्को’ भट्टराईको तेस्रो चलचित्र हो । यसअघि उनले ‘झोला’ र ‘भोर’ जस्ता सामाजिक सन्देशप्रद चलचित्रहरू निर्देशन गरेका थिए । चलचित्रको पटकथा तथा संवाद निर्देशक भट्टराई, अरुणदेव जोशी र देव व्रतले तयार पारेका हुन् ।

यसमा दीपक बज्राचार्यको छायाङ्कन, चण्डीप्रसाद काफ्ले र दीपक शर्माको सङ्गीत, तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ । निर्माता सुशीला आचार्य र राम गोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu