‘चलचित्र’ गीत रिलिज गर्दै ‘द एलिमेन्ट्स’ ब्यान्डले साङ्गीतिक प्रस्तुति दिने



काठमाडौं। युवापुस्तामाझ लोकप्रिय ‘द एलिमेन्ट्स’ ब्यान्डले आगामी शनिवार काठमाडौंको हात्तीसारस्थित सिङ्क लाउन्जमा साङ्गीतिक प्रस्तुति दिने भएको छ । ब्यान्डले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गर्ने अवसरमा यस विशेष प्रस्तुति दिन लागेको हो ।

ब्यान्डका म्यानेजर मनिष अधिकारीका अनुसार, शनिवार सार्वजनिक हुने नयाँ गीतको शीर्षक ‘चलचित्र’ रहेको छ । यस अवसरमा ब्यान्डले आफ्ना पुराना चर्चित गीतहरू पनि प्रस्तुत गर्नेछ, जसमध्ये ‘बिर्सने हौ कि’, ‘सपनाको मायालु’, र ‘पुतली’ विशेष चर्चित छन् ।

‘चलचित्र’ शीर्षकको नयाँ गीतमा नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री गौरी मल्लले अभिनय गरेकी छिन् । मल्लसँगै कुन्शाङ तामाङ र ब्यान्डका सदस्यहरू ईशानराज वन्त, रौनक अधिकारी, र दिपेश गुरुङ पनि म्युजिक भिडियोमा अभिनयमा देखिनेछन् । रविन शर्माको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा कुन्शाङ तामाङले साधारण व्यक्तिबाट नायक बन्ने पात्र ‘रुद्र’को भूमिका निभाएका छन् ।

चलचित्रको म्युजिक भिडियोमा सांस्कृतिक सिनेमाटिक फ्युजन समावेश गरिएको छ, जसले नेपाली परम्परा र सांस्कृतिक विशेषतालाई झल्काउने दृश्यहरू प्रस्तुत गरेको छ । कला निर्देशक चे शङ्करले यसका लागि पाटन क्षेत्रको सांस्कृतिक र आध्यात्मिक सौन्दर्यलाई सिनेमाटिक रूप दिएका छन्, भने सौरभ लामिछानेले छायाङ्कन गरेका छन् । ब्यान्डका गायक ईशानराजका अनुसार, “यो गीतले सबै मान्छे आफ्नो जीवनको चलचित्रका हिरो आफैँ हौँ भन्ने सन्देश दिन्छ ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu