मुहूर्त गर्दै छायाङ्कनमा निस्कियो चलचित्र ‘नरसिंहाः अवतार’



काठमाडौं। बालाजुस्थित एनएफडिसि स्टुडियोमा बिहीबार एक विशेष समारोहका बीच चलचित्र ‘नरसिंहाः अवतार’ को मुहूर्त सम्पन्न भयो । कार्यक्रममा अभिनेता राजेश हमाल, राज कटुवाल, अर्जुन श्रेष्ठ, अभिनेत्री नीति शाह, सनिशा भट्टराई, निर्देशक दिवाकर भट्टराई, निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत, ध्रुव न्यौपाने, वितरकहरू छवि ओझा, करण श्रेष्ठ लगायत प्राविधिक टोलीको उपस्थिति थियो ।

एक्सन र सोसल ड्रामामा आधारित यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्दै छन् । चलचित्रको मुख्य आकर्षण महानायक राजेश हमालको ८ वर्षपछि पर्दामा कमब्याक हो । निर्देशक भट्टराईका अनुसार हमाललाई स्क्रिप्ट स्वीकार गर्न तीन महिना लागेको थियो, र यसका लागि उनले नयाँ लुक्स तयार गरेका छन् ।

अभिनेता राज कटुवालले हमालसँग काम गर्न पाउँदा बाल्यकालको सपना पूरा भएको बताए । अभिनेत्री नीति शाहले हमालको सल्लाहअनुसार फिल्ममा जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । सनिशा भट्टराईले पनि हमालको फ्यान भएको बताउँदै, सँगै काम गर्न पाउँदा गर्व महसुस गरेको बताइन् ।

चलचित्रको अर्को विशेष आकर्षण भनेको दिग्गज अभिनेता राजेश हमाल र सरोज खनालको पुनर्मिलन हो । उनीहरूले अन्तिम पटक सँगै काम गरेको चलचित्र ‘चाहना’ वि.सं. २०५२ मा रिलिज भएको थियो । यस चलचित्रमा सरोज खनाल, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

शिवरात्रिको अवसरमा, आगामी फागुन १४ गते रिलिज हुने यस चलचित्रको वितरण एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी, र रिच इन्टरटेन्मेन्टले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu