चलचित्र ‘खुस्मा’को एक हप्ताको व्यापार ४ करोड ५५ लाख



काठमाडौं। गत बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ले पहिलो हप्ता करिब ४ करोड ५५ लाख ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताएका छन्।

वितरक शाहीका अनुसार ‘खुस्मा’ले काठमाडौं उपत्यकाको तुलनामा मोफसलमा राम्रो व्यापार गरेको छ। यो चलचित्रले पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज, विराटनगर, धरान, इटहरी, दमक, र बिर्तामोडजस्ता सहरमा बढी व्यापार गरेको छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन्। यो उनको पहिलो ठुलो पर्दाको निर्देशन हो, यद्यपि उनी यसअघि विभिन्न डकुमेन्ट्री फिल्महरू लेखन तथा निर्देशन गरी ९ वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा पुरस्कार जितिसकेका छन्। चलचित्रको निर्माणमा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, र बेतान मगर संलग्न छन् भने सुस्मिता बुढाथोकी सह-निर्माताको भूमिकामा छिन्।

चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका छन्। यसअघि सार्वजनिक गरिएका गीत र टिजरले पनि राम्रो प्रतिक्रिया पाइसकेका छन्। ‘खुस्मा’मा धिरज र उपासनाका अलावा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, र अन्य कलाकारहरूको अभिनय रहेको छ। जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको प्रेमकथामा आधारित यस चलचित्रले मगर समुदायको परिवेशलाई प्रस्तुत गरेको छ।

चलचित्रको सङ्गीत एसडी योगी र कोरियन सङ्गीतकार छान्जु पार्कले दिएका छन् भने गीत रचना सुरेन्द्र राना, राम अविरल बिस्ट र निर्देशक थापाले गरेका हुन्। चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu