चलचित्र ‘१२ गाउँ’को नयाँ गीत सार्वजनिक



काठमाडौं। अभिनेता बिराज भट्टको दोस्रो निर्देशकीय चलचित्र ‘१२ गाउँ’को नयाँ गीत ‘कसो कसो’ सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गरिएको यो रोमान्टिक गीतमा चलचित्रका मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री सोनू चन्द्रपालको आकर्षक केमेस्ट्री देख्न सकिन्छ।

समीर बिराज भट्टका आफ्नै छोरा हुन् भने सोनू भारतीय टेलिभिजन सिरिजकी चर्चित कलाकार हुन्। गीतमा नीरज सिंहको सङ्गीत, सुवास चन्द्र ढुङ्गेलको शब्द र सुगम पोखरेल र सदीक्षा कट्टेलको आवाज रहेको छ।

गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् भने गीत भारतका प्रख्यात गायक कैलाश खेरको ‘कैलासा स्टुडियो’मा रेकर्ड गरिएको हो। गीतको छायाङ्कन पनि भारतमै गरिएको देखिन्छ।

‘१२ गाउँ’को यो दोस्रो गीत हो। करिब दुई साताअघि पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक गरिएको थियो, जसले चलचित्रप्रति दर्शकहरूमा चासो बढाएको थियो। यो चलचित्र आगामी असोज २४ गते (फूलपाती)का दिनबाट प्रदर्शनमा आउँदैछ।

यस चलचित्रमा समीर र सोनूसहित बिराज भट्टले पनि प्रमुख भूमिका निर्वाह गरेका छन्। साथै, चलचित्रमा पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दिया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, भीष्म जोशी, र साउथका चर्चित कलाकार स्टन्ट सिल्भाको पनि अभिनय रहेको छ।

‘१२ गाउँ’को प्राविधिक पक्षमा महेश पौडेलको छायाङ्कन, अर्जुन पोखरेल र नीरज सिंहको सङ्गीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी, प्रवीण केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ। चलचित्रको कथा स्वयं बिराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकारले तयार पारेका छन्। द्वन्द्व निर्देशन साउथका अनुभवी स्टन्ट निर्देशक सिल्भाले गरेका छन्, जसले यसअघि ५० भन्दा बढी साउथ चलचित्रहरूमा द्वन्द्व निर्देशन गरिसकेका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu