चलचित्र निर्माता राईद्वारा खेलकुदमा लगानी



इटहरी। नेपाली चलचित्र निर्माता तथा चलचित्र विकास बोर्ड अन्तर्गत रहेको आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईले खेलकुदमा झन्डै ८ लाख रुपैयाँको योगदान गरेका छन् । उनले ‘सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’का लागि २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदी जडित रनिङ ट्रफी आफैँ प्रायोजन गरी प्रदान गरेका हुन् ।

आइतबार इटहरीको बेलबारीमा आयोजित एक विशेष समारोहकाबीच राईले ट्रफी आफैँ निर्माण गरी आयोजकलाई हस्तान्तरण गरे । ट्रफी एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम बान्तवा राई र बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राईले ग्रहण गरेका थिए ।

निर्माता राईले उक्त ट्रफी आफ्ना स्वर्गीय पिता मेजर एन.बि. रुङमाहाङ राईको स्मृतिमा निर्माण गरेका हुन् । ट्रफी निर्माणमा उनलाई उनका परिवारका सदस्य पोपिराज राई, पवित्रा राई, सरला राई र नानु राईले साथ दिएका थिए ।

कार्यक्रममा राईले ट्रफी तयार गर्न लगभग ८ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । उनले भने, ‘खेलाडीहरूको हौसलाका लागि मैले ट्रफी बनाएको हुँ । आगामी दिनमा पनि खेलाडीहरूको हौसलाका लागि म सकेको सहयोग गर्नेछु ।’ उनले २०४८/४९ सालमा आफ्ना पिताको नाममा नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको स्मरण पनि गरे ।

आयोजकले तीन पटक लगातार विजेता बन्ने टोलीलाई ट्रफीको मूल्य बराबरको नगद पुरस्कार प्रदान गरिने जानकारी दिएको छ । कार्यक्रमका दौरान बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई र निर्माता ज्योतिराज राईले ट्रफीको अनावरण गरे ।

‘सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ मोरङको बेलबारी नगरपालिका – ११, लक्ष्मी खेल मैदानमा असोज ११ गतेदेखि १९ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको आयोजना एल एक्स सिटी फुटबल क्लबले गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu