चलचित्र ‘फिरफिरे फिरिरि’ को फर्स्ट लुक पोस्टर सार्वजनिक, कार्तिक २२ गते रिलिज हुने



काठमाडौं। नेपाली चलचित्र उद्योगले आगामी कार्तिक २२ गतेलाई लक्षित गर्दै हरर कमेडी शैलीको चलचित्र ‘फिरफिरे फिरिरि’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ । विन्ध्यवासिनी क्रियसनको ब्यानरमा निर्मित यस चलचित्रलाई मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । ‘नौ डाँडा पारी’ र ‘मङ्गलसूत्र’ जस्ता लोकप्रिय चलचित्रहरू निर्माण गरिसकेका निर्माता अधिकारी झन्डै १५ वर्षको अन्तरालपछि फेरि चलचित्र निर्माणमा सक्रिय भएका हुन् ।

उनले अब निरन्तर चलचित्र निर्माण गर्ने योजना बनाएको बताएका छन् । चलचित्रको लेखन सन्दीप श्रेष्ठ र नविन भट्टले गरेका छन् भने निर्देशन नविन भट्टको रहेको छ । निर्माण टिमले ‘फिरफिरे फिरिरि’ दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गरेको छ । यसै चलचित्रमार्फत सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली चलचित्र उद्योगमा डेब्यु गर्दैछन् ।

सार्वजनिक पोस्टरमा चार जना पात्रहरूलाई प्रस्तुत गरिएको छ, जसमा स्कुटीमा बसेकी युवतीलाई तीन जना युवकहरूले तानातान गरिरहेको देख्न सकिन्छ । पोस्टरसँगै चलचित्रको रिलिज मिति पनि घोषणा गरिएको छ, जसअनुसार यो चलचित्र छठ पर्वको दिनदेखि प्रदर्शनमा आउनेछ । पोस्टरको डिजाइन अनन्त घिमिरेले गरेका हुन् ।

चलचित्रको शीर्षक ‘फिरफिरे फिरिरि’ पहेँलो रङ्गले हाइलाइट गरिएको छ, जसमा स्लोगन ‘आज साइकल… भोली फरारी’ लेखिएको छ । यस चलचित्रमा मनोज कुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, शङ्कर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, र सूर्यमान लिम्बु लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रको अन्य प्राविधिक पक्षमा जितु तामाङको छायाङ्कन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको सङ्गीत, अमित श्रेष्ठको साउन्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ । चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu