चलचित्र ‘आँखा’को ट्रेलर: कलात्मक र भावनात्मक शैलीमा कथा भन्ने प्रयास



काठमाडौं। लामा सिनेमाजको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘आँखा’ को ट्रेलर आइतबार सार्वजनिक भएको छ। असोज ११ गतेदेखि प्रदर्शनमा आउन लागेको यस चलचित्रको झन्डै साढे दुई मिनेट लामो ट्रेलर चलचित्र रिलिजको पाँच दिनअघि मात्र सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक भएसँगै यसको कलात्मक र भावनात्मक शैलीमा कथा भन्ने प्रयासको चर्चा भइरहेको छ।

यसअघि सार्वजनिक गरिएको टिजर र गीतलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको थियो। यसले गर्दा निर्देशक जौन योन्जनले फिल्मको कथालाई संक्षिप्त रूपमा प्रस्तुत गर्दै ट्रेलरलाई पनि कलात्मक र भावनात्मक बनाउने प्रयास गरेका छन्। ट्रेलरमा मुख्य भूमिकामा रहेका कलाकारहरू स्मिता लामिछाने र आरके मेहताको अभिनयलाई विशेष स्थान दिइएको छ।

‘आँखा’ले सुकुम्वासी बस्तीको जीवनशैली, सङ्घर्ष र त्यहाँको यथार्थलाई प्रमुख कथावस्तु बनाएको छ। फिल्मको कथा बागमती नदी किनारमा बसोबास गर्ने एक सम्पत्तिविहीन दम्पतीको जीवन सङ्घर्ष र चुनौतीहरूको वरिपरि घुम्छ। यी पात्रहरूले दैनिक जीवनयापनका लागि गर्नुपरेका कठिन परिश्रमहरू र उनीहरूको भावनात्मक अवस्थालाई चलचित्रले चित्रण गरेको छ।

फिल्ममा स्मिता र आरकेसँगै विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राईको समेत अभिनय देख्न सकिन्छ।

निर्देशक जौन योन्जनले कथा, पटकथा लेखन तथा सम्पादन गरेका छन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता, राम बस्नेत लाइन प्रोड्यूसर, रेनुका कार्की ढोली सह-निर्माता हुन्। यसको छायाङ्कन आलोक शुक्लाले गरेका छन् भने सङ्गीतको जिम्मेवारी दीपक आरजे र जयन जे वाइबाले लिएका छन्। पार्श्व सङ्गीत गङ्गा थापाले तयार पारेका छन् भने ध्वनि मुद्रण किशोर आचार्यको छ।

रोयल भीमसेनले पोस्टर डिजाइन गरेका छन् भने आरआर फिल्म्सले वितरण गर्दैछ। चलचित्रलाई ढाका टोपी फिल्म्स, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट, र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण गरिएको हो।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu