मिसेस नेपाल वर्ल्ड २०२४: २९ प्रतिस्पर्धी अन्तिम चरणमा प्रवेश



काठमाडौं। देशभरका विभिन्न क्षेत्रका २९ महिलाहरूले प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’ को अन्तिम चरणमा स्थान बनाएका छन्। हालै काठमाडौंमा आयोजित अडिसनबाट छानिएका यी महिलाहरू गृहिणीदेखि लिएर उच्च शिक्षा र पेसामा संलग्न व्यक्तित्वसम्म विविध पृष्ठभूमिका छन्। अन्तिम चरणमा प्रवेश गरेका प्रतिस्पर्धीमध्ये डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यकर्मी, फेसन डिजाइनर, नर्स तथा दुई पटक क्यान्सरलाई परास्त गर्न सफल महिलाहरू समेत रहेका छन्।

छानिएका प्रतिस्पर्धीहरूमा प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सृजना व्यञ्जनकार, अम्बिका गौतम, सुयेशा राउत, एलिना घिमिरे, विनीता ढकाल, साहारा आचार्य तिमल्सिना, नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ, सङ्गीता गौतम, दीपतारा लुइँटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल र दीपा विश्वकर्मा समावेश छन्।

यस वर्षको प्रतियोगिताका लागि छानिएका महिलाहरूलाई काठमाडौंमा आयोजित एक भव्य स्यासिङ समारोहमा ट्याग नम्बर प्रदान गर्दै स्यास पहिराइएको थियो। समारोहमा सहभागी सबै प्रतिस्पर्धीले आफ्नो परिचय दिएका थिए।

रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ‘मिसेस नेपाल वर्ल्ड २०२४’को ग्राण्ड फिनाले आगामी कात्तिक १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी गराए। यस वर्षको विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ। प्रतियोगितामा अश्विनी झाको कोरियोग्राफी रहनेछ।

त्यसै मञ्चमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’का विजेताहरू पनि चयन गरिनेछन्, जसले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu