भ्रमण तथा चलचित्र प्रिमियर र छायाङ्कनका लागि भारतीय सेलिब्रेटीहरूको नेपाल आगमनमा वृद्धि



काठमाडौं। चर्चित भारतीय अभिनेता प्रकाश राज आफ्नो नयाँ दक्षिण भारतीय चलचित्र ‘ज्याक’को छायाङ्कनका लागि नेपालमा छन्। नेपालमा छायाङ्कन हुने विभिन्न अन्तर्राष्ट्रिय प्रोजेक्टहरूमा अर्को ठूलो नामको रूपमा उनको आगमन भएको हो। उनी शनिवार अपराह्न भिस्तारा एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

प्रकाश राजलाई चलचित्रको नेपाल व्यवस्थापक सुरज आचार्य र चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले विमानस्थलमा स्वागत गरेका थिए। नेपालका ऐतिहासिक र सांस्कृतिक धरोहरहरूको महत्वलाई छायाङ्कन गर्नका लागि विदेशी चलचित्र निर्माताहरूको रुचि बढ्दै गएको यो पछिल्लो उदाहरण हो। नेपालमा यस्ता प्रतिष्ठित कलाकार र चलचित्रहरूको उपस्थिति चलचित्रमार्फत देशको पर्यटन प्रवर्धनको लागि महत्त्वपूर्ण मानिन्छ।

भक्तपुर दरबार स्क्वायर लगायतका स्थानमा गत पाँच दिनदेखि यो चलचित्रको छायाङ्कन भइरहेको छ, जहाँ अभिनेता प्रकाश राज पनि आइतबारदेखि सहभागी हुनेछन्। प्रकाशले छायाङ्कनमा १० दिनसम्म समय दिनेछन्। बोम्मारिलु भास्करको निर्देशनमा निर्माण भइरहेको यस चलचित्रमा सिद्धू जोन्नालगड्डा मुख्य भूमिकामा छन् भने वैष्णवी चैतन्य अभिनेत्रीको भूमिकामा देखिनेछिन्। चलचित्रमा नेपाली कलाकारहरूको पनि उपस्थिति रहने बताइएको छ।

प्रकाश राजले करियरमा दुई सय भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन्, जसमा ‘सिंघम’, ‘वान्डेट’, ‘अपरिचित’, ‘इरुवर’, ‘कांचीवरम’ जस्ता चलचित्रहरू विशेष रूपमा चर्चामा रहेका छन्।

यो चलचित्रको नेपालको व्यवस्थापन थ्री ह्विलर्स नामक कम्पनीले हेरिरहेको छ, जसका सञ्चालकहरू सुरज आचार्य, अरुण रेग्मी र सुरेश अधिकारी हुन्। यसको निर्माण व्यवस्थापन चलचित्र प्राविधिक संघका अध्यक्ष रहेका पुष्कर लामा र मनोज जोशीले गरिरहेका छन्।

यस वर्ष भारतीय सेलिब्रेटीहरूको नेपाल आगमन उल्लेखनीय रूपमा बढेको देखिएको छ। कोही आफ्ना व्यक्तिगत भ्रमणका सिलसिलामा नेपाल आइरहेका छन् भने कोही चलचित्र छायाङ्कनका लागि आइरहेका छन्। यस वर्ष नेपाल आउने चर्चित भारतीय सेलिब्रेटीहरूको सूचीमा दक्षिण भारतीय अभिनेत्री ज्योतिका सरवनन, अभिनेता प्रदीप रावत, सुनिल वर्मा, कबीर दुहान सिंह, आशिष् विद्यार्थी, बलिउडबाट अभिनेता नवाजुद्दीन सिद्धिकी, निर्देशक एवं अभिनेता अनुराग कश्यप, तथा अभिनेत्री तारा सुतरिया जस्ता व्यक्तिहरू परेका छन्।

नवाजुद्दीन सिद्धिकी र अनुराग कश्यप चलचित्र ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन नेपाल आएका थिए। साथै, यही चलचित्र हेर्नका लागि प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी पनि छिट्टै नेपाल आउने बताइएको छ।

यस्तै, आफ्नो फरक स्टाइलबाट चिया बिक्री गर्ने भारतका प्रख्यात ‘डलि चायवाला’ पनि यति बेला नेपाल भ्रमणमा छन्। उनले नेपालबारे सामाजिक सञ्जालमा पोस्ट गरेको पछिल्लो भिडियो ३ करोड भन्दा बढिले हेरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu