मध्यपूर्वमा नेपाली चलचित्रको नयाँ अध्याय: ‘छक्का पञ्जा ५’ साउदी अरबमा पनि रिलिज हुने



काठमाडौं। मध्यपूर्वको एक प्रमुख देश साउदी अरबमा पनि नेपाली चलचित्रको बजार विस्तार हुने भएको छ। उक्त देशमा पहिलो पटक नेपाली चलचित्र ‘छक्का पञ्जा ५’ प्रदर्शन हुने पक्का भएको छ। मध्यपूर्वका देशहरूमा नेपाली चलचित्र प्रदर्शनको लागि प्रख्यात कम्पनी नेप-फिल्मसको वितरणमा यो चलचित्र कार्तिक १ गते अर्थात् अक्टोबर १७, २०२४ देखि साउदी अरबका विभिन्न हलहरूमा रिलिज गरिनेछ।

नेप-फिल्मसमा प्रमुख रमेश ढकालले यस ऐतिहासिक अवसरमा नेपाली दर्शकहरूको ठूलो सहभागिता रहने अपेक्षा राखेको बताए। उनले आफूले पहिलो तर महत्त्वपूर्ण कदम चालेकोमा साउदीमा रहने ठुलो सङ्ख्याका नेपालीहरूले साथ दिने विश्वास रहेको बताए। नेपालमा असोज २४ गते रिलिज हुने यो चलचित्र युएई, कतार, बहराइन, ओमान, मलेसिया, र मालदिभ्समा पनि एकैसाथ प्रदर्शन हुनेछ।

साउदीमा नेपाली चलचित्रको प्रदर्शन मध्यपूर्वमा नेपाली सिनेमा विस्तारको एउटा महत्त्वपूर्ण कदम हो। नेपाली श्रमिकहरूको ठुलो सङ्ख्याले यो क्षेत्रमा चलचित्रलाई राम्रो बजार प्रदान गर्न सक्छ। सन् २०२३ को अक्टोबरसम्म साउदी अरबमा २ लाख १५ हजारभन्दा बढी नेपाली श्रमिक रहेका छन्, र यो सङ्ख्या निकट भविष्यमा बढ्दै जाने अनुमान छ।

साउदी सरकारद्वारा विदेशी चलचित्रमाथि लगाएको प्रतिबन्ध सन् २०१८ मा हटाइएको थियो। प्रतिबन्ध हटेसँगै पहिलो पटक हलिउड चलचित्र ‘ब्ल्याक प्यान्थर’ रिलिज भएको थियो। साउदीमा सन् २०३० सम्म ३५० हल र २५०० पर्दा निर्माण गर्ने लक्ष्य साउदी सरकारले राखेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu