उल्लेख्य शो प्राप्त गर्दै रिलिज भयो चलचित्र ‘खुस्मा’



काठमाडौं। नेपाली चलचित्र ‘खुस्मा’ प्रदर्शनमा आएको छ। संविधान दिवसमा भएको सार्वजनिक बिदाको मौका छोप्दै यो चलचित्र बिहीबार नै रिलिज भएको हो। यो चलचित्रले देशभरका मल्टिप्लेक्स हलहरूमा उल्लेख्य मात्रामा शो प्राप्त गरेको छ।

गत मङ्गलवार साँझ भएको प्रिमियर शोमा चलचित्र हेरेपछि अधिकांशले यसको प्रशंसा गर्दै यसले द्वन्द्वको समयमा भोगिएका पीडाहरूको चित्रण प्रभावकारी ढङ्गले गरेको बताएका थिए। अशोक थापा मगरको निर्देशनमा बनेको यस चलचित्रका कलाकारहरू धिरज मगर र उपासना सिंह ठकुरीको अभिनयले विशेष तारिफ पाएको थियो।

निर्देशक थापाको पहिलो ठुलो पर्दाको फिल्म भए पनि उनले यसअघि केही डकुमेन्ट्री फिल्महरू लेखन तथा निर्देशन गरेर नौ वटा अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पुरस्कार जितिसकेका छन्।

चलचित्र ‘खुस्मा’ एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो। निर्माता विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, र बेतान मगर हुन् भने सह-निर्मातामा सुस्मिता बुढाथोकी छन्। चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका छन्। यस चलचित्रको गीत १ करोड माथि भ्युजसहित युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ, जसले गर्दा चलचित्रप्रति दर्शकको उत्साह उच्च रहेको देखिन्छ।

चलचित्र मगर समुदायको परिवेशमा निर्माण गरिएको प्रेमकथामा आधारित छ। चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरीसँगै माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउछा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, र विवेश मगरको अभिनय रहेको छ।

चलचित्रको सङ्गीत एसडी योगी र कोरियन सङ्गीतकार छान्जु पार्कले दिएका छन् भने गीत रचना सुरेन्द्र राना, राम अविरल बिस्ट, र निर्देशक अशोक थापाले गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu