यो साता ‘दोस्रो राष्ट्रिय चलचित्र सम्मेलन’ हुँदै, चलचित्र क्षेत्रको विकासको लागि प्राज्ञिक बहस हुने



काठमाडौं। मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा दोस्रो राष्ट्रिय चलचित्र सम्मेलन आगामी असोज ४ र ५ गते राष्ट्रिय समाचार समिति (रासस)को सभाहल, भद्रकालीमा आयोजना हुने भएको छ। दुई दिनसम्म चल्ने यस सम्मेलनमा चलचित्र क्षेत्रको समग्र विकासका लागि आठ वटा कार्यपत्र प्रस्तुति, दुई वटा प्यानल छलफल, एउटा ‘किनोट स्पिच’ तथा अनुभव सेयरिङको कार्यक्रम रहेको छ।

समाजमा चलचित्रको भूमिका केवल मनोरञ्जनको माध्यममा सीमित नभई यसले देशको संस्कृति, परम्परा, र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा, यस्ता सम्मेलनहरू चलचित्र क्षेत्रको विकासका लागि अपरिहार्य रहेको आयोजक संस्थाले जनाएको छ। चलचित्रलाई लिएर नेपालमा अझै पर्याप्त प्राज्ञिक बहस, छलफल, र अन्तर्क्रिया हुन सकेको छैन, जसका लागि यस सम्मेलनले महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रस्तुत गरिने कार्यपत्रहरूमा चलचित्रकर्मीहरू, अनुसन्धानकर्ता, पत्रकार, र अन्य प्राज्ञिक व्यक्तिहरूले विभिन्न विषयमा महत्त्वपूर्ण अनुसन्धान र विचार प्रवाह गर्नेछन्। कार्यक्रममा निर्जला अधिकारीले “पुरुषत्व र नारीत्व दुवैको मिश्रण”, छिरिङ रितार शेर्पाले “ऊमा मा महिला नायक”, एलिना छन्त्यालले “नारी प्रधान चलचित्रमा महिलाको सामाजिक धारणा”, अनुप सुवेदीले “नेपाली फिल्ममा इरानी फिल्मको प्रभाव”, अरुणदेव जोशीले “विश्व सिनेमाको रुपान्तरणः एसिया तथा अन्य देशका उदीयमान सिनेमाको गुणस्तर”, डा. सचिन घिमिरेले “फिल्म कलेजमा अनुसन्धान पद्धति पाठ्यक्रम सिकाउन वैचारिक, पद्धतिगत, र व्यावहारिक चुनौतीहरू”, नवनिधि दाहालले “पाठ्यक्रम अवलोकन: त्रिविको बिए इन फिल्म स्टडिज्”, डब्बु क्षेत्रीले “नेपालमा चलचित्र पत्रकारिता विगत देखि वर्तमानसम्म” र मनोज पण्डितले “पटकथाको दार्शनिक आयाम” विषयमा आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्नेछन्।

सम्मेलनमा “वैकल्पिक भाष्यको मुलप्रवाहीकरण: सामाजिक यथार्थवादको कसीमा जातीय अन्तर्वस्तु” र “प्रस्तावित चलचित्र विधेयक २०८०” माथि दुई वटा प्यानल छलफल हुनेछ।

कार्यक्रमको उद्घाटन सत्रमा वरिष्ठ फिल्म निर्देशक दीपेन्द्र गौचनले “सांस्कृतिक र कलात्मक प्रयासको मुख्य आधारका रूपमा चलचित्रहरू” विषयक ‘किनोट स्पिच’ प्रस्तुत गर्नेछन्। त्यस्तै, पहिलो दिनको अन्त्यमा चलचित्र निर्देशक तुलसी घिमिरेले “इतिहासतिर फर्केर हेर्दा” शीर्षकमा आफ्नो अनुभव सेयर गर्नेछन्।

दुई दिनसम्म चल्ने यस सम्मेलनमा नेपाली चलचित्रकर्मी, प्राज्ञिक, अध्येता, पत्रकार तथा अन्य गरी ५०० जनाभन्दा बढीको सहभागिता रहनेछ। नेपाली चलचित्र क्षेत्रको गुणात्मक प्रगति र प्राज्ञिक बहसको थालनीका लागि यस सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

नेपालमा चलचित्रकर्मी, निर्देशक, निर्माता, चलचित्र अध्येता, समीक्षक, चलचित्र शिक्षण तथा नीति निर्माणमा संलग्न सबै सरोकारवालाहरूका लागि यो सम्मेलन एक महत्त्वपूर्ण अवसर हुनेछ। चलचित्र क्षेत्रको विकास र यसका चुनौतीहरूसम्बन्धी प्राज्ञिक बहसको थालनी गर्ने यस सम्मेलनले नेपाली चलचित्रलाई नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu