हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शनी हुने



काठमाडौं। नवीन सुब्बा निर्देशित नेपाली चलचित्र ‘गाउँ आएको बाटो’को हङकङमा विशेष प्रदर्शन गरिने भएको छ। चलचित्र आगामी २० अक्टोबरमा हङकङको प्रतिष्ठित गोल्डेन सिन सिनेमामा प्रदर्शन हुने कार्यक्रम तय भएको छ।

यो प्रदर्शनी विशेष रूपमा नेपाली चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिँदै छ, जसले हङकङमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय दर्शकहरूलाई नेपाली सिनेमा नजिक ल्याउने प्रयास गर्नेछ।

चलचित्रका निर्माता अमोद राईले हङकङको गोल्डेन सिन सिनेमाले पहिलो पटक कुनै नेपाली चलचित्रको वितरण अधिकार खरिद गरेको उल्लेख गरेका छन्। उनले भने, “हाम्रो चलचित्रको प्रदर्शनी गोल्डेन सिनेमाकै हलमा हुनेछ, यो हङकङका दर्शकहरूको लागि विशेष अवसर हो। नेपालको सिनेमा इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्रसँग जोडिएर काम गरेका छन्।”

चलचित्रको सम्पादन प्रसिद्ध ताइवानी सम्पादक क्वान पुन लुङले गरेका छन् भने सङ्गीत हङकङकी चर्चित सङ्गीतकार हाइडी लीले दिएकी छन्। चलचित्रको प्रमुख भूमिकामा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतका कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ। चलचित्रको कार्यकारी निर्माताका रूपमा हङकङमा रहेका देवराज राई रहेका छन्। साथै सह निर्माताको रूपमा अरुण राई, मातृदिप राई, रामली राई, सुमन वोनेम, मायादेवी राईलगायतका हङकङबासी नेपालीहरूले पनि यो चलचित्रको निर्माणमा योगदान पुर्‍याएका छन्।

यसअघि चलचित्रलाई क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउ पाउलो, भारतको मुम्बई, स्वीडेनको गोटेबर्ग र चीनको बेइजिङ लगायतका प्रमुख अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शित गरिएको थियो। चलचित्रको छायांकन अमेरिकन छायाकार जोस हेरमले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu