‘खुस्मा’ प्रिमियरमा प्रतिक्रिया: द्वन्द्वको समयका पीडाहरूको प्रभावकारी चित्रण



काठमाडौं। बिहीबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘खुस्मा’को मङ्गलवार साँझ काठमाडौंमा भव्य प्रिमियर भएको छ। सशस्त्र द्वन्द्व काललाई पृष्ठभूमिमा राखी प्रेमकथामा आधारित यस चलचित्र हेर्न प्रिमियर शोमा राजनीतिज्ञ, चलचित्रकर्मी, र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित हुने व्यक्तिहरूमा प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा बान्तवा राई, लेखक प्रदीप भारद्वाज, निर्माता सरोज न्यौपाने, तथा कलाकार सलिनमान बनियाँ, आर्सीवाद क्षेत्री, गौमाया गुरुङ, पशुपति राई तथा रुकुमका स्थानीय बासिन्दाहरू थिए।

चलचित्र हेरेपछि अधिकांशले यसको प्रशंसा गर्दै यसले द्वन्द्वको समयमा भोगिएका पीडाहरूको चित्रण प्रभावकारी ढङ्गले गरेको बताए। अशोक थापा मगरको निर्देशनमा धिरज मगर र उपासना सिंह ठकुरीको अभिनयले विशेष तारिफ पाएको थियो। निर्देशक थापाको पहिलो ठुलो पर्दाको फिल्म भए पनि उनले यसअघि केही डकुमेन्ट्री फिल्महरू लेखन तथा निर्देशन गरेर नौ वटा अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पुरस्कार जितिसकेका छन्।

प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले ‘खुस्मा’लाई चलचित्र भन्दा पनि एउटा ऐतिहासिक दस्ताबेजको रूपमा प्रस्तुत गरिएको बताए। उनले भने, “यो चलचित्र नहेरेसम्म द्वन्द्व कालको वास्तविक प्रभाव र पीडा बुझ्न सकिन्न।” चलचित्र हेर्दा दर्शकहरूलाई द्वन्द्व कालको समय र त्यसले सर्वसाधारणको जीवनमा पारेको असरलाई स्पष्ट रूपमा अनुभव गर्न सकिने बताएका थिए।

निर्देशक निश्चल बस्नेतले पनि निर्देशक अशोक थापाले फिल्ममा देखाउन चाहेको कुरालाई अत्यन्तै कुशलतापूर्वक प्रस्तुत गरेको बताए। उनी भन्छन्, “अशोक थापाले कथा लेखनदेखि सम्पादनसम्म आफैँले गरेको हुनाले चलचित्र निकै उत्कृष्ट बनेको छ।” उनले कलाकार उपासना सिंह ठकुरीको अभिनयलाई विशेष प्रशंसा गरे भने धिरज मगरले पनि आफूलाई अब्बल कलाकारको रूपमा प्रमाणित गरेको बताए। अभिनेता सलिनमान बनियाँले पनि चलचित्र निकै मन परेको बताए।

चलचित्र ‘खुस्मा’ एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो। निर्माता विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, र बेतान मगर हुन् भने सह-निर्मातामा सुस्मिता बुढाथोकी छन्। चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका छन्। सार्वजनिक भएको चलचित्रको गीत र ट्रेलर दर्शकबाट रुचाइएको र ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ, जसले गर्दा चलचित्रप्रति दर्शकको उत्साह उच्च रहेको देखिन्छ।

चलचित्र मगर समुदायको परिवेशमा निर्माण गरिएको प्रेमकथामा आधारित छ। चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरीसँगै माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउछा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, र विवेश मगरको अभिनय रहेको छ।

चलचित्रको सङ्गीत एसडी योगी र कोरियन सङ्गीतकार छान्जु पार्कले दिएका छन् भने गीत रचना सुरेन्द्र राना, राम अविरल बिस्ट, र निर्देशक अशोक थापाले गरेका छन्। चलचित्रको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu