‘सिंघम अगेन’को रिलिज सर्ने सम्भावना, कार्तिक ३० गते रिलिज हुन सक्ने: नेपालमा कस्तो असर पर्ला ?



काठमाडौं। यस पटकको दीपावली (कार्तिक १६) मा कार्तिक आर्यन अभिनीत ‘भूल भुलैया ३’ र रोहित शेट्टी निर्देशित बहुप्रतीक्षित चलचित्र ‘सिंघम अगेन’ बीचको भिडन्तको चर्चा भइरहेका बेला, यो भिडन्त रोकिने सम्भावना देखिएको छ। यसका निर्देशक रोहित शेट्टी र उनका सहकर्मीहरू अहिले चलचित्रको प्रदर्शन मिति दुई हप्ता पछि सार्नेबारे गम्भीर छलफल गरिरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। 

विगत तीन दिनदेखि रोहित शेट्टी, अजय देवगण, जियो स्टुडियोज, रिलायन्स इन्टरटेनमेन्ट, र कुमार मंगतबीच चलचित्रको प्रदर्शन मितिबारे एकपछि अर्को बैठकहरू भएका छन्। बलिउड हङ्गामाका अनुसार, ‘सिंघम अगेन’को टोली नोभेम्बर १ मा हुने भिडन्तको सट्टा, नोभेम्बर १५ (कार्तिक ३०) मा चलचित्रलाई एक्लो रूपमा रिलिज गर्न चाहन्छ।

हालका दिनमा ‘स्त्री २’ को सफलतापछि हास्य चलचित्रहरूको चर्चा चुलिएको छ, र ‘भूल भुलैया ३’ लाई अहिले हल्का रूपमा लिन नमिल्ने स्थिति रहेको छ। ‘सिंघम अगेन’ ठुलो बजेटको चलचित्र रहेको र यसका निर्माता सम्पूर्ण पक्षलाई ध्यानमा राख्दै चलचित्रलाई नोभेम्बर १ र नोभेम्बर १५ को बीचमा कुन मितिमा प्रदर्शन गर्ने भन्नेबारे विश्लेषण भइरहेको बताइएको छ। यसबारे अन्तिम निर्णय २४ घण्टा भित्र लिइने जनाइएको छ।

बलिउड हङ्गामाले उद्धृत गरेको स्रोतका अनुसार आजकल हरर-हास्य चलचित्रहरू दर्शकहरूमा लोकप्रिय रहेको र श्रद्धा कपूर र राजकुमार रावको ‘स्त्री २’ ले ६०० करोड कमाउन सक्छ भने, कार्तिक आर्यन, विद्या बालन, माधुरी दीक्षित, तृप्ती डिमरी जस्ता कलाकारसहितको ठुलो फ्रेन्चाइज ‘भूल भुलैया ३’ ले अझ धेरै व्यापार गर्न सक्छ भन्ने विश्वास निर्माताको रहेको छ।

‘सिंघम अगेन’ बलिउडको सबैभन्दा ठुलो चलचित्रमध्ये एक मानिन्छ। यसमा अजय देवगण, रणवीर सिंह, दीपिका पादुकोण, अक्षय कुमार, टाइगर श्रफ, र अर्जुन कपूरको स्टारकास्ट रहेको छ।

कार्तिक १५ मा तीनवटा नेपाली चलचित्रहरू नै भिड्ने तयारीमा थिए, तर हालै मात्र चलचित्र ‘मायावी’ पछि हटेपछि अब ‘एक्टर: टेक वन’ र ‘पूर्णबहादुरको सारङ्गी’ मात्र रिलिज हुनेछन्।

भारतका चर्चित चलचित्रहरु नेपालमा पनि रिलिज हुने सम्भावना व्यापक हुन्छ। चर्चित भारतीय चलचित्रहरुको नेपालको व्यापार र क्रेज राम्रो हुने भएकोले नेपाली निर्माताहरूले पनि आफ्नो रिलिज मितिमा हेरफेर गर्ने सम्भावना रहन्छ। कार्तिक ३० गते तीन नेपाली चलचित्रहरू‘केटी हराएको सूचना’, ‘ह्रस्व दीर्घ’ र ‘बम बहादुर’ पनि प्रदर्शनमा आउँदै छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu