‘बाह्रखरी कथा प्रतियोगिता २०८१’को लागि कथा आह्वान



काठमाडौं। बाह्रखरी मिडियाले नेपाली कथा लेखनलाई प्रवर्द्धन गर्ने उद्देश्यले छैटौँ संस्करणको ‘बाह्रखरी कथा प्रतियोगिता–२०८१’ को घोषणा गरेको छ। विगत पाँच वर्षदेखि निरन्तर रूपमा कथा लेखनको अभियान चलाउँदै आएको बाह्रखरी मिडियाले यो वर्षको कथा प्रतियोगिताका लागि आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक रूपमा कथा आह्वान गरेको हो। नेपाली भाषामा लेखिएको मौलिक कथाहरू पठाउन यस वर्षको भदौ ३१ देखि कात्तिक ५ गतेसम्मको समयसीमा तोकिएको छ।

यस वर्षको निर्णायक मण्डलीमा प्रा.डा. ज्ञानू पाण्डे, डा. गीता त्रिपाठी, तथा धीरेन्द्र प्रेमर्षि रहेका छन्। बाह्रखरीलाई प्राप्त कथाहरूको प्रारम्भिक छनोट बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको नेतृत्वमा रहेको आन्तरिक समूहले गर्नेछ, जसबाट ५० कथा छनोट गरिनेछ। यी कथाहरूलाई निर्णायक समूहले समीक्षा गरी प्रथम, द्वितीय, तृतीय, तथा ‘उत्कृष्ट कथा २०८०’का लागि २२ अन्य कथा छान्नेछ।

प्रतियोगितामा उत्कृष्ट ठहरिएका तीन कथाहरूलाई क्रमशः एक लाख, ६० हजार, र ४० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। अन्तिम चरणसम्म पुग्ने २५ कथाहरूलाई पुस्तकका रूपमा सङ्गृहीत गरिनेछ, जसमा उत्कृष्ट २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँको सम्मान प्रदान गरिनेछ।

यस वर्षको कथा प्रतियोगिताको नतिजा २०८१ मङ्सिर १४ गते सार्वजनिक गरिनेछ। त्यही दिन ‘उत्कृष्ट कथा–२०८१’ नामक कथासङ्ग्रहको लोकार्पण गरिने योजना छ।

पछिल्ला पाँच संस्करणमा विभिन्न प्रतिभाशाली कथाकारहरू सम्मानित भएका छन्। पहिलो संस्करणमा बिना थिङ तामाङको ‘ब्याड भाले’, दोस्रोमा मुना चौधरीको ‘लार’, तेस्रोमा मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’, चौथोमा नवीन अभिलाषीको ‘दमाहा’, र पाँचौँमा मनोजबाबु पन्तको ‘बूढो लाँकुरीको रुख’ प्रथम भएका थिए।

प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीहरूले १,५०० देखि ४,००० शब्दबीचको कथा वर्ड फाइलमा पठाउनुपर्नेछ। कथा मौलिक र अप्रकाशित हुनुपर्छ, र नतिजा सार्वजनिक नभएसम्म अन्यत्र प्रकाशन वा प्रसारण गर्न पाइने छैन। कथासँगै छोटो परिचय, सम्पर्क नम्बर, र हालसालै खिचिएको फोटो पनि अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। कथा [email protected] इमेल ठेगानामा पठाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu