अभिनेत्री अदिति र अभिनेता सिद्धार्थले गरे विवाह



बलिउड अभिनेत्री अदिति राव हैदरी र दक्षिण भारतीय अभिनेता सिद्धार्थले विवाह गरेका छन्। तेलंगानाको वानापर्थीमा रहेको ४०० वर्ष पुरानो श्रीरंगपुर मन्दिरमा उनीहरूले गोप्यरुपमा विवाह सम्पन्न गरेका हुन्, जसमा उनीहरूको परिवारका सदस्य मात्र सहभागी थिए।

दुवैले विवाहका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै एक अर्काका लागि प्रेमिल सन्देश पनि लेखेका छन्। उनीहरूले लेखेका छन्, “तिमी मेरो चन्द्रमा, सूर्य र तारा हौ। परिकथाजस्तै सधैँ हामीसँगै रहनेछौँ, सधैँ हाँसिरहनेछौँ। सधैँ भरिका लागि प्रेम, प्रकाश र जादु कायम राखिरहनेछौँ। मिसेज र मिस्टर अद्दू-सिद्धू।”

सिद्धार्थ र अदिति २०२१ मा तमिल-तेलुगु चलचित्र ‘महासमुद्रम’मा सँगै काम गरेका थिए। यही चलचित्रबाट उनीहरूको निकटता बढेको थियो। सिद्धार्थले ‘रङ्ग दे बसन्ती’ र ‘चश्मेबद्दूर’ जस्ता बलिउडका चर्चित चलचित्रमा समेत काम गरेका छन्।

अदिति राव हैदरी दक्षिण भारतीय चलचित्रसँगै बलिउडका पनि चर्चित अभिनेत्री हुन्। उनले ‘पद्मावत’, ‘बोस’, ‘रक स्टार’, र ‘मर्डर ३’ जस्ता चलचित्रमा अभिनय गरेकी छिन्।

अदिति राव हैदरीको जन्म सन् १९८६ को अक्टोबर २८ मा हैदराबादमा एहसान हैदरी र विद्या रावको घरमा भएको हो। अदिति हैदराबादका निजाम रहेका मो. साहेल अकबर हैदरीकी पनातिनी हुन्। अदितिका हजुरबा राजा जे. रामेश्वर राव तेलंगानाको वानापर्थीका राजा थिए।

अदितिले आफ्नो करियरको सुरुवात भरतनाट्यम नृत्यबाट गरेकी थिइन्। उनले प्रसिद्ध भरतनाट्यम नृत्यांगना लीला सैमसनको नृत्य समूहमा काम गरेकी थिइन्। त्यहाँ काम गरेपछि उनले अभिनयतर्फ ध्यान दिन थालेकी थिइन्। अदितिले पहिलो पटक २००७ मा तमिल फिल्म ‘श्रृंगारम’ मा अभिनय गरेकी थिइन्। 

अदिति र सिद्धार्थ दुवैको यो दोस्रो विवाह हो। सिद्धार्थले पहिलो विवाह २००३ मा मेघनासँग गरेका थिए, तर उनीहरूको सम्बन्ध २००७ मा टुटेको थियो। अदितिको पहिलो विवाह भने अभिनेता सत्यदीप मिश्रासँग भएको थियो, जब उनी २१ वर्षकी थिइन्। चार वर्षपछि उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu