काला पत्थरमा सुरेन्द्र र सुसनको कीर्तिमानी नृत्य, राष्ट्रपति पौडेलद्वारा सम्मान



काठमाडौं। सोलुखुम्बुस्थित काला पत्थरमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउँदै कीर्तिमानी डान्स गर्ने सुरेन्द्र राई र सुसन तामाङलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राई र तामाङलाई प्रमाणपत्र प्रदान गर्दै राष्ट्रपतिले उनीहरूको साहसिक र ऐतिहासिक योगदानको प्रशंसा गरे। यो घटना नेपाललाई विश्वसामु चिनाउने मात्र नभई हिमाली पर्यटन प्रवर्द्धनको दृष्टिकोणले पनि महत्त्वपूर्ण भएको राष्ट्रपति पौडेलले बताए।

सुरेन्द्र राई र सुसन तामाङले जेठ ६, २०८१ मा ५,४४१ मिटर (१७,८५१ फिट) उचाइमा सोलुखुम्बुस्थित काला पत्थरमा ‘मन मगन’ गीतमा साढे दुई मिनेट लामो नृत्य प्रस्तुत गरेका थिए। यस कीर्तिमानी नृत्यमार्फत उनीहरूले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल भएका थिए। यस साहसिक परियोजनाको मुख्य उद्देश्य नेपाललाई विश्वभर चिनाउने र हिमाली क्षेत्रको पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको सुरेन्द्र र सुसनले बताए।

यस कीर्तिमानको सफलतामा फोटोग्राफर सौगात कार्की,  भिडियोग्राफरहरू सोनम केसी र उमेश सापकोटा जस्ता प्रतिभाशाली सहयोगीहरूको महत्त्वपूर्ण भूमिका रहेको थियो। सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड, र खुम्बु पासाङ्ल्हामु गाउँपालिकाले यस परियोजनालाई संस्थागत समर्थन दिएका थिए। गिनिज वर्ल्ड रेकर्ड्सका आधिकारिक प्रतिनिधि चित्रकुमार कार्कीको उपस्थितिमा यो कीर्तिमानको प्रमाणीकरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu