‘खुस्मा’को ‘रुकुम मैकोट’ गीतमा पूर्व उपराष्ट्रपति पुनको नृत्य



काठमाडौं। पूर्व उपराष्ट्रपति नन्द किशोर पुनको प्रमुख आतिथ्यमा नेपाल मगर सांस्कृतिक सङ्घ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगिता शनिवार सम्पन्न भयो। उक्त कार्यक्रमका विशेष अतिथि आफ्नो आगामी चलचित्र ‘खुस्मा’ को प्रचार-प्रसारमा व्यस्त अभिनेता धिरज मगर थिए। 

कार्यक्रमको क्रममा अभिनेता मगरले आफ्नो चलचित्रमा मगर संस्कार र संस्कृतिलाई जनयुद्धको परिवेशमा प्रस्तुत गरिएको बताए। उनले उपस्थितलाई चलचित्र हेर्न निम्तो दिँदै भने, “यसअघि रिलिज भएको ‘बाबरी’ जस्तै यस सिनेमालाई पनि दर्शकको साथ र माया अपेक्षा छ।”

कार्यक्रमको विशेष क्षणमा पूर्व उपराष्ट्रपति नन्द किशोर पुन र धिरज मगरले ‘रुकुम मैकोट’ गीतमा नृत्य प्रस्तुत गरेका थिए। पूर्व उपराष्ट्रपति पुनले मगरलाई मगर सांस्कृतिक सङ्घको लोगो अङ्कित पगरी पहिराइदिएर उनलाई सफलताको शुभकामना दिए। साथै, पुनले ‘खुस्मा’ हेर्ने वाचा गर्दै मगर संस्कृतिलाई प्रवर्धन गर्न मगरको योगदानको प्रशंसा गरे।

‘खुस्मा’को निर्देशन अशोक थापा मगरले गरेका हुन्, जसले यसअघि डकुमेन्ट्री चलचित्र लेखन तथा निर्देशनमा नौ अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन्। यो चलचित्र एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो, जसका निर्माता विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, र बेतान मगर हुन्। सह-निर्मातामा सुस्मिता बुढाथोकीले साथ दिएकी छिन्। छायाङ्कन दीपक बज्राचार्यले गरेका हुन्। 

यस चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन्। अन्य कलाकारहरूमा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउछा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, र विवेश मगरको पनि अभिनय देख्न सकिन्छ।

प्रेमकथामा आधारित यो चलचित्र जनयुद्धको प्रभावको समयमा फस्टाएको प्रेमलाई पर्दामा उतार्नेछ। सङ्गीत एसडी योगी र कोरियन सङ्गीतकार छान्जु पार्कले दिएका छन् भने गीतहरू सुरेन्द्र राना, राम अविरल बिस्ट, र निर्देशक थापा मगरले लेखेका छन्। सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्म्सले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu