चौथो स्पाइनी ब्याबलर फिल्म फेस्टिभलमा ‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र



काठमाडौं। राष्ट्रिय नाचघर काठमाडौंमा चौथो स्पाइनी ब्याबलर इन्टरनेशनल फिल्म फेस्टिभल २०२४ भव्य रूपमा सम्पन्न भएको छ। एरा प्रोडक्सन प्रा.लि. को व्यवस्थापनमा निर्देशक कमला जोशीको नेतृत्वमा आयोजित यस महोत्सवमा १७ विभिन्न देशका ९५ भन्दा बढी चलचित्रहरूको सहभागिता रहेको थियो। नेपाल, भारत, दक्षिण अफ्रिका, अस्ट्रिया, फ्रान्स, संयुक्त राज्य अमेरिका, श्रीलङ्का, अफगानिस्तान, डेनमार्क, हङकङ, आयरल्याण्ड, मोरक्को, ओमान, पाकिस्तान, रसिया, स्पेन र स्विडेन जस्ता देशहरूबाट चलचित्रहरूले सहभागिता जनाएका थिए।

यस चलचित्र महोत्सवमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै श्रेणीका चलचित्रहरूलाई विभिन्न पुरस्कारद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय क्याटेगोरीतर्फ लक्ष्मण सुबेदीको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गर्‍यो। त्यस्तै, निर्देशक लक्ष्मण सुनारले चलचित्र ‘बुलाकी’ बाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड जिते। ‘सतीदेवी’ बाट नै मल्लिका महतले अभिनय विधामा अवार्ड हात पारिन्। चलचित्र ‘नम्बरी सुन’ बाट सङ्गीतकार सन्तोष श्रेष्ठले सर्वोत्कृष्ट सङ्गीतकारको अवार्ड प्राप्त गरे, भने सोही चलचित्रबाट निर्माता नरेश खातीले जुरी मेन्सन अवार्ड जिते।

निर्देशक पूर्णकाजी ज्यापुले नेपाल भाषाको चलचित्र ‘हिसिमती’ मार्फत सर्वोत्कृष्ट सांस्कृतिक चलचित्रको अवार्ड प्राप्त गरे। छोटा चलचित्रतर्फ, अभिनेता प्रवण भुसालले चलचित्र ‘परिवर्तन’ मार्फत सर्वोत्कृष्ट अभिनेता अवार्ड प्राप्त गरे। त्यस्तै, छोटा चलचित्रतर्फ चलचित्र ‘छाया’ बाट सर्वोत्कृष्ट निर्देशक दिनेश कार्की, ‘सीमा’ बाट सर्वोत्कृष्ट छायाकार सुजेश थापा, ‘अन्तरवार्ता’ बाट निर्देशक प्रसन्न मालीले जुरी मेन्सन अवार्ड जिते, भने चलचित्र ‘ह्वएर एम आई’ बाट सर्वोत्कृष्ट मेकअप आर्टिस्टको अवार्ड निर्मला चन्दले प्राप्त गरिन्।

इन्टरनेशनल क्याटेगोरीतर्फ सर्वोत्कृष्ट चलचित्रको अवार्ड ‘रेड’ बाट रौनक विक्रम (नेपाल) ले प्राप्त गरे। त्यस्तै, सर्वोत्कृष्ट जुरी स्पेसल मेन्सन अवार्ड ‘लेट्स हाईड ईट इन हिएर’ (साउथ अफ्रिका) ले जित्यो। ‘रोमाद’ (ओमान) ले सर्वोत्कृष्ट स्पाइरेशन अवार्ड पायो भने, चलचित्र ‘रन फर युअर लाइफ’ (डेनमार्क) ले सर्वोत्कृष्ट छायाकारको अवार्ड जित्यो। अमेरिकन चलचित्र ‘द जब’ सर्वोत्कृष्ट स्क्रिप्टको विजेता बन्यो। चलचित्र ‘ला डेर डेस डेर’ (फ्रान्स) ले सर्वोत्कृष्ट छायाकारको जुरी स्पेसल मेन्सन अवार्ड पायो।

आयरल्यान्डको चलचित्र ‘अ टाउन वलेड १९९५’ ले सर्वोत्कृष्ट इन्फरमेटिभ्स अवार्ड प्राप्त गर्‍यो भने, रसियाको चलचित्र ‘ड्रिम्स अफ द पास्ट’ ले सर्वोत्कृष्ट ऐतिहासिक चलचित्रको अवार्ड पायो। अष्ट्रियाली चलचित्र ‘जिगोलो’ ले सर्वोत्कृष्ट इन्टरटेनिङ अवार्ड जित्यो। स्पेनको चलचित्र ‘ईष्टेल’ ले सर्वोत्कृष्ट इमोसनल अवार्ड प्राप्त गर्‍यो, भने स्विडेनको चलचित्र ‘अक्रोश द हिमालय’ ले सर्वोत्कृष्ट डकुमेन्ट्री अवार्ड पायो।

यस महोत्सवका लागि अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा केदार प्रसाद घिमिरे (नेपाल), अमोल भगत (भारत), शहादत रसोल (बङ्गलादेश), म्याग्डोलिना कोभ्पास (बेलायत), र सन्तोष सुवेदी (नेपाल) रहनुभएको थियो। राष्ट्रिय निर्णायकहरूमा छायाकार रबिन आचार्य, सम्पादक जीवन थापा, गायिका सरिता भारती, कलाकारहरू यादव गिरी, ज्याक श्रेष्ठ, र दिल माया मगरले निर्णायक भूमिकामा योगदान पुर्‍याएका थिए।

यस चलचित्र महोत्सवको समापनमा अभिनेता मोहन निरौला, शान्तिप्रिय, सुचित्रा श्रेष्ठ, गजित विष्ट, कुवेर गिरी, सुमन बैरागी, तुलसी गिरी भावुक, सुजाता केसी लगायतका नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकर्मीहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली संगीत क्षेत्रका चर्चित गायक रुद्र शेखर शर्मा, पत्रकार अशेष अधिकारी, सङ्गीतकार दिपक शर्मा, पत्रकार विष्णु सुवेदी, गीतकार गोविन्द भट्ट, छायाकार राजन खरेल र कोरियोग्राफर सन्दीप कुमार भुजेललाई सम्मान दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu