‘शाम्बाला’को लागि क्युएफएक्स लगायत मल्टिप्लेक्सहरूमा आकर्षक शो टाइम



काठमाडौं। नेपाली चलचित्र ‘शाम्बाला’ भोली शुक्रवारदेखि नेपालभरका चलचित्र हलहरूमा प्रदर्शन हुँदैछ। मल्टिप्लेक्सहरूको नेपालकै ठुलो चेन क्युएफएक्सले यो चलचित्रमा ठुलो विश्वास राख्दै, आफ्ना सिनेमा घरहरूमा करिब ५० शो प्रस्तुत गरेको छ। त्यस्तै, बिग मुभिज, एफक्युब, रञ्जना, सिके, कीर्तिपुर सिनेमा लगायतका मल्टिप्लेक्स हलहरूमा पनि ‘शाम्बाला’को आकर्षक शोहरू उपलब्ध गराएका छन्। केही हलहरूमा भने शो आउने क्रम जारी छ।

मीनबहादुर भामको निर्देशनमा बनेको यस चलचित्रले काठमाडौंमा भएको प्रिमियरमा बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकी र चर्चित भारतीय निर्देशक तथा अभिनेता अनुराग कश्यपको उपस्थिति पाएको थियो। चलचित्रको विश्व प्रिमियर भने बर्लिन् फिल्म फेस्टिभलमा भएको थियो, जसको कारण विश्वभर यसले ठुलो चर्चा बटुल्न सफल भयो। 

‘शाम्बाला’ सामाजिक ड्रामा, एड्भेन्चर र म्याजिक रियालिजमको मिश्रणमा आधारित छ। नेपाली र तिब्बती भाषाको मिश्रणमा बनेको यस चलचित्रलाई नेपाल रिलिजको लागि अङ्ग्रेजी र नेपाली सबटाइटलसहित प्रस्तुत गरिएको छ। 

चलचित्रको कथावस्तु नेपालका हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित छ। पेमा नामकी महिला, जसले तीन दाजुभाइहरूसँग विवाह गरेकी छिन्, चलचित्रको मुख्य पात्र हुन्। पेमा गर्भवती भएपछि उनका जेठा श्रीमान् टासी व्यापारका लागि बेपत्ता हुन्छन्। त्यसपछि पेमा र उनका दोस्रो श्रीमान् कर्मले टासीको खोजीमा हिमाली यात्राको सुरुवात गर्छन्। यो यात्राले पेमाको जीवनमा ठुलो परिवर्तन ल्याउँछ।

चलचित्रमा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य, टेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरुङ, लोटेन नामलिङ लगायतका कलाकारहरूले भूमिका निभाएका छन्। साथै, प्रसिद्ध गायिका आनी छोइङ डोल्माले पनि विशेष भूमिका निभाएकी छिन्।

चलचित्रको छायाङ्कन माथिल्लो डोल्पामा गरिएको हो भने यसको निर्माण लागत १४ करोड रुपैयाँ रहेको छ। मीनबहादुर भाम र अविनाश विक्रम शाहले चलचित्रको पटकथा लेखेका हुन्। छायाङ्कन निर्देशन अजीज झाम्बाकिएभले गरेका छन् भने किरण श्रेष्ठ र लियाओ चिङ-सुङ चलचित्रका सम्पादक हुन्। न्ह्यू बज्राचार्यले चलचित्रको सङ्गीत तयार पारेका छन् र पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन्।

यो चलचित्रले नेपालको चलचित्र विकास बोर्डलगायत विश्वका १७ संस्थाबाट फन्ड प्राप्त गरेको छ। बर्लिन् फिल्म फेस्टिभलमा दक्षिण एसियाको पहिलो चलचित्रको रूपमा तीन दशकपछि मुख्य प्रतिस्पर्धामा सहभागी हुने मौका पाएको ‘शाम्बाला’ले लोकार्नो फिल्म फेस्टिभलको ‘पिएज्जा ग्राण्ड’ कार्यक्रममा छनोट हुने पहिलो नेपाली चलचित्रको रूपमा पनि इतिहास रचेको छ। अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि अवार्ड समेत जितेकी थिइन्। 

नेपाली चलचित्र उद्योगको लागि ‘शाम्बाला’ले अन्तर्राष्ट्रिय मञ्चमा गर्व गर्नलायक उपस्थिति जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu