किन पुनः सेन्सर गरियो ‘रावायण’ ? अब १६ वर्षभन्दा कम उमेरका दर्शकले पनि अभिभावकको साथमा हेर्न पाउने



काठमाडौं। नेपाली चलचित्र ‘रावायण’लाई पुनः सेन्सर गर्दै अब ‘पिजी’ प्रमाणपत्र दिइएको छ। यसअघि यो चलचित्रलाई ‘ए’ प्रमाणपत्र दिइएको थियो, जसअनुसार १६ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउने व्यवस्था गरिएको थियो। ‘ए’ प्रमाणपत्रअनुसार दर्शकले उमेर प्रमाणित गर्ने सरकारी परिचयपत्र साथमा लैजानु पर्ने नियम छ।

तर, पुनः सेन्सरपछि अब यो चलचित्रलाई ‘पिजी’ प्रमाणपत्र प्राप्त भएको छ, जसले गर्दा १६ वर्षभन्दा कम उमेरका दर्शकले पनि अभिभावकको साथमा यो चलचित्र हेर्न पाउने भएका छन्। सोमबार बिहानदेखि ‘पिजी’ प्रमाणपत्रसहित चलचित्र प्रदर्शन भइरहेको चलचित्रका निर्देशक सुदर्शन थापाले बताए।

निर्देशक थापाले केही दृश्यमा ‘ब्लर’ र केही संवादमा ‘बीप’ लगाएर चलचित्रलाई पुनः सेन्सर गरिएको जानकारी दिएका छन्।  उनले आफू भारतमा रहेको समयमा चलचित्र सेन्सर भएकाले सिधै ‘एडल्ट’ प्रमाणपत्र प्राप्त गरेको बताउँदै दर्शक हलबाट फर्किरहेको देखेपछि उनले पुनः सेन्सरका लागि निवेदन दिएको जानकारी दिए। उनले भने, “पहिलो पटक सेन्सर हुँदा म नेपालमा थिइनँ, त्यसैले चलचित्र ‘ए’ प्रमाणपत्रसहित रिलिज भयो। पछि हलबाट दर्शक फर्किएको थाहा पाएपछि मैले निवेदन दिएर पुनः सेन्सर गराएको हुँ। खासै समस्या थिएन, केही सामान्य कुराहरू मिलाउँदा चलचित्रले ‘पिजी’ प्रमाणपत्र पाएको छ।”

‘रावायण’ सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण भएको हो। चलचित्रकी निर्माता पूजा शर्मा हुन् भने कार्यकारी निर्माता सुशन पाठक हुन्। फिल्ममा पल शाह, पूजा शर्मा, प्रियङ्का कार्की, निकिता चण्डक लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, र सौरभ लामाको छायाङ्कन रहेको यस चलचित्रको वितरण आरआर फिल्मसले गरिरहेको छ भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu