काठमाडौंमा ‘शाम्बाला’को भव्य प्रिमियर, बलिउडबाट नवाजुद्दिन सिद्धिकी र अनुराग कश्यपको उपस्थिति



काठमाडौं। ठमेलस्थित छाया सेन्टरमा रहेको क्यूएफएक्स सिनेमा हलमा मीनबहादुर भाम निर्देशित नेपाली चलचित्र ‘शाम्बाला’को भव्य प्रिमियर गरिएको छ। रिसेप्सनसहित आयोजित प्रिमियरमा सहभागी हुन विशेष अतिथिको रूपमा बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकी र चर्चित भारतीय निर्देशक तथा अभिनेता अनुराग कश्यपको उपस्थिति रहेको थियो। उनीहरूको उपस्थितिले प्रिमियरलाई महत्त्वपूर्ण बनायो।

नेपाली चलचित्रको इतिहासमा पहिलो पटक बलिउड र नेपाली चलचित्र क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरू एकै ठाउँमा उपस्थित भएका हुन्। कार्यक्रममा नेपाली काँग्रेसका महासचिव विश्व प्रकाश शर्मा, पूर्व मन्त्रीहरू प्रदीप ज्ञवाली र सुमना श्रेष्ठ, प्रतिनिधि सभा सदस्य असीम शाह, तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो भने नेपाली चलचित्र क्षेत्रका कलाकारहरू, निर्देशकहरू, निर्माताहरू तथा पत्रकारहरूको बाक्लो उपस्थिति देखियो। साथै, केही व्यापारिक घरानाका व्यक्तिहरू समेत प्रिमियरमा सहभागी थिए।

प्रिमियर अगाडि सम्बोधन गर्दै बलिउड अभिनेता सिद्धिकीले आफूले पहिलो पटक नेपाल भ्रमण गरेको बताए। उनले विशेष रूपमा शाम्बाला’ हेर्ने इच्छाले नेपाल आएको बताउँदै, नेपाली चलचित्रले आफूलाई आकर्षित गरेको बताए। उनले मीनबहादुर भाम जस्ता उदीयमान निर्देशकहरूले नेपाली फिल्मको उज्ज्वल भविष्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे। यस्तै, निर्देशक कश्यपले नेपाली चलचित्र क्षेत्रको प्रगतिप्रति प्रशंसा गर्दै, आगामी दिनमा यस क्षेत्रले अझ ठुलो फड्को मार्ने विश्वास व्यक्त गरे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले चलचित्र ‘शाम्बाला’ले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आशा व्यक्त गरे।

‘शाम्बाला’को वर्ल्ड प्रिमियर प्रतिष्ठित बर्लिन् फिल्म फेस्टिभलमा भएको थियो। नेपाली र तिब्बती भाषाको मिश्रण रहेको यो चलचित्रमा नेपाल रिलिजको लागि अङ्ग्रेजी र नेपाली सबटाइटल समावेश गरिएका छन्। यो चलचित्र सोसल ड्रामा, एड्भेन्चर, र म्याजिक रियालिजमको मिश्रण जनरामा आधारित छ।

‘शाम्बाला’ नेपालको हिमाली क्षेत्रको बहुपति प्रथामा आधारित छ, जसले पेमा नामकी एक महिलाको कथा प्रस्तुत गर्छ। पेमा तीन दाजुभाइहरूसँग विवाह बन्धनमा बाँधिएकी छिन्। जब उनका जेठा श्रीमान् टासी व्यापारका लागि गएर बेपत्ता हुन्छन्, तब गर्भवती पेमा आफ्नो बच्चाको वैधताको खोजीमा दोस्रो श्रीमान् कर्मसँग टासीको खोजीमा यात्रा थाल्छिन्। सांसारिक खोजको रूपमा सुरु भएको यो यात्रा कसरी पेमाको आत्मज्ञान र मुक्तिको मार्गमा रूपान्तरण हुन्छ भन्ने विषय चलचित्रको केन्द्रमा छ।

यस चलचित्रमा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य, टेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरुङ, लोटेन नामलिङ, जङ्गबहादुर लामा, छिरिङ छोडेन, छिरिङ ल्हामो गुरुङ, र छिरिङ छोएब्ले टोवा लगायतका लगायतको अभिनय रहेको छ। बिशेष भूमिकामा प्रसिद्ध गायिका आनी छोइङ डोल्माको पनि अभिनय रहेको छ। प्रिमियरमा निर्देशक मीनबहादुर भामसहित आनी र सम्पूर्ण कास्ट एन्ड क्रू सहभागी थिए। 

१४ करोड रुपैयाँको लागतमा बनेको यो चलचित्रले नेपालको चलचित्र विकास बोर्डसहित विश्वका १७ संस्थाबाट फण्ड जित्न सफल भएको थियो। चलचित्रको सम्पूर्ण छायाङ्कन माथिल्लो डोल्पामा गरिएको छ। बर्लिन् फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा प्रिमियर हुने ‘शाम्बाला’ दक्षिण एसियाको पहिलो चलचित्र हो, जसले तीन दशकपछि यस्तो सम्मान प्राप्त गर्‍यो। यो चलचित्र स्विजरल्याण्डको लोकार्नो फिल्म फेस्टिभल (Piazza Grande) मा छनोट हुने पहिलो नेपाली चलचित्र पनि हो, जहाँ अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनयका लागि अवार्ड जितेकी थिइन्।

‘शाम्बाला’का पटकथाकार मीनबहादुर भाम र अविनाश विक्रम शाह हुन्। निर्माता मीनबहादुर भाम, छायाकार अजीज झाम्बाकिएभ, सम्पादकहरू किरण श्रेष्ठ र लियाओ चिङ-सुङ, तथा सङ्गीतकार न्ह्यू बज्राचार्य हुन्। यो चलचित्रलाई एप्पल इन्टरटेनमेन्टले नेपालभर रिलिज गर्दैछ भने पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका छन्। ‘शाम्बाला’ आगामी शुक्रवारदेखि देशव्यापी रूपमा रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu