काठमाडौं। ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’को तेस्रो संस्करणमा ‘सिनेमामा कथा वाचन कला’ शीर्षकमा आयोजित सेसनमा निर्देशक सुजित बिँडारीले आफ्नो चलचित्र निर्माण यात्रा र सिर्जनात्मक प्रक्रियाको अनौठो पक्षबारे अन्तरङ्ग अनुभव साटेका थिए। पत्रकार वसन्त बस्नेतसँगको कुराकानीमा उनले विशेषतः चलचित्र ‘ऐना झ्यालको पुतली’का अनुभवहरू सुनाए, जहाँ एउटै चलचित्रलाई पटक–पटक हेर्दै जाँदा उत्पन्न हुने मानसिक अवस्थाका पीडाहरू र त्यसले सृजनशीलतामा पार्ने प्रभावबारे उनले चर्चा गरे।
सुजितले नयाँ पुस्ताका निर्देशकहरूलाई आफ्नो अनुभूतिबाट सन्देश दिँदै भने, “तपाईँले एउटै चलचित्रलाई धेरै पटक हेर्नुपर्छ, जसले गर्दा कुनै ताजगी रहँदैन र कहिलेकाहीँ त आफू झुर चलचित्र हेरिरहेको अनुभव पनि हुन्छ।” उनले चलचित्र निर्माणका क्रममा आएको थकानको अनुभव सुनाउँदै नयाँ पुस्तालाई त्यस्तो अवस्थामा पनि आत्मसमर्पण गर्न सक्ने क्षमता आवश्यक हुने बताए।
चलचित्र निर्माणमा आउने चुनौती र सृजनशीलताको जटिलताबारे कुरा गर्दै उनले भने, “जति टाढा बसेर आफूलाई हेर्छु, उति सृजनशील सामग्री भेटिन्छ। आत्म–वियोजन (डिट्याचमेन्ट) नै सृजनशीलताको पहिलो सर्त हो।”
सुजितको चलचित्र निर्माण शैली पारम्परिक नेपाली चलचित्रको भन्दा धेरै फरक छ। वसन्तले नेपाली चलचित्रमा चर्को साउन्ड, ठुला डाइलग र द्वन्द्वको प्रसङ्ग ल्याएर सुजितको शैलीबारे प्रश्न गर्दा, सुजितले आफू सानो क्यानभासमा काम गर्न रुचाउने बताए। “सानो क्यानभासमा काम गर्दा गहिराइमा जान सकिन्छ,” उनले भने।
उनले आफ्ना चलचित्रहरूमा साहित्य र काव्यको प्रभावलाई विशेष महत्त्व दिएको बताए। उनको पहिलो चलचित्र ‘सावित्री’ भवानी भिक्षुको कथा ‘टाइपिस्ट’बाट प्रेरित थियो भने दोस्रो चलचित्र ‘ऐना झ्यालको पुतली’को नामकरणमा पनि साहित्यिक प्रभाव झल्किन्छ। उनले भने, “कुनै पनि सिर्जनामा काव्यिक अर्थ दिन मलाई सधैँ मन पर्छ।”