तेस्रो ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ सुरु



काठमाडौं। ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’को तेस्रो संस्करण शनिवारदेखि काठमाडौँको होटेल हिमालयमा सुरु भएको छ। दुई दिनसम्म चल्ने यस महोत्सवको उद्घाटन भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन श्री प्रसन्न श्रीवास्तव, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, र प्रख्यात लेखक भुवन ढुङ्गानालगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भयो।

कलिङ साहित्य महोत्सवका संस्थापक निर्देशक रश्मि रञ्जन परिदाले यस महोत्सवलाई नेपाल र भारतबिचको सांस्कृतिक आदानप्रदानको साझा मञ्च भएको बताए। उनले नेपाल-भारतको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको गहिराइलाई स्मरण गराउँदै महोत्सवले यो सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेलिरहेको बताए।

महोत्सवकी सह-संस्थापक तथा निर्देशक रञ्जना निरौलाले महोत्सवले साहित्यप्रेमीहरूलाई एक ठाउँमा ल्याउने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताउँदै भनिन्, “यो महोत्सव सृजनशीलता, विचार, अभिव्यक्ति, र अनुभूतिहरूको सङ्गम हो। हामीले देश विदेशका सर्जकहरूलाई यस मञ्चमा एकत्रित गर्न पाउँदा गर्व महसुस गरेका छौँ।”

कुलपति भूपाल राईले महोत्सवले साहित्य र संस्कृतिको माध्यमबाट देश विदेशका मानिसहरूलाई जोड्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। “कलिङ महोत्सवले दक्षिण एसियाली देशहरूबिच सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाइरहेको छ, जसले मानवतालाई जोड्ने महत्त्वपूर्ण कडीको रूपमा काम गरिरहेको छ,” उनले भने।

डेप्युटी चिफ अफ मिसन श्रीवास्तवले नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन यो महोत्सवले ठुलो योगदान पुर्‍याएको उल्लेख गरे। “काठमाडौँ जस्तो सांस्कृतिक रूपमा धनी सहरमा भारतको प्रतिष्ठित महोत्सव तीन वर्षदेखि निरन्तर हुँदै आएको छ, जसले दुवै देशबिचको पुरानो र गहिरो सम्बन्धलाई अझ बलियो बनाइरहेको छ,” उनले थपे।

यो महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान र भारतको कलिङ साहित्य महोत्सवको सहकार्यमा आयोजना गरिएको हो, जसको उद्देश्य नेपाल र भारतबिचको कला, साहित्य, र संस्कृति आदानप्रदानलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu