चलचित्र ‘खुस्मा’ को जापान र कोरिया प्रदर्शन अधिकार विक्री



काठमाडौं। नेपाली चलचित्र ‘खुस्मा’ ले जापान र कोरिया प्रदर्शन अधिकार विक्री गरेको छ। निर्माण टोलीले एक पोस्टर सार्वजनिक गर्दै जापानका लागि प्रदर्शन अधिकार खुर्पेटो प्रोडक्सनले किनेको पुष्टि गरेको हो। यद्यपि, कोरियाका लागि अधिकार कसले किनेको भन्ने जानकारी खुलाइएको छैन।

चलचित्रको गीत र टिजर रिलिजपछि दर्शकमा उत्साह बढेको छ, जसको प्रत्यक्ष फाइदा विदेश प्रदर्शन अधिकारमा परेको निर्देशक अशोक थापा मगरले बताएका छन्। अन्य थुप्रै देशहरूबाट पनि चलचित्र प्रदर्शनका लागि छलफल भइरहेको र निश्चित भएपछि जानकारी दिने निर्माण पक्षले जनाएको छ।

‘खुस्मा’ आगामी असोज ३ गते प्रदर्शनमा आउँदैछ। एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका छन्, जसका लागि यो ठुलो पर्दाको पहिलो निर्देशकीय अनुभव हो। यसअघि उनले डकुमेन्ट्री चलचित्रहरू निर्देशन गरेका थिए, जहाँबाट नौ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेका थिए।

चलचित्रका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर, र बेतान मगर छन् भने सह-निर्माताको भूमिकामा सुस्मिता बुढाथोकी रहेकी छन्। चलचित्रको छायाङ्कन दीपक बज्राचार्यले गरेका छन्, र यसअघि सार्वजनिक गरिएको गीत र टिजर दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिसकेको छ।

प्रेमकथामा आधारित ‘खुस्मा’ मगर समुदायको पृष्ठभूमिमा जनयुद्धको प्रभावबिच विकसित प्रेमकथालाई प्रस्तुत गर्नेछ। प्रमुख भूमिकामा धिरज र उपासना रहेका छन् भने माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा लगायत कलाकारको पनि अभिनय देख्न सकिनेछ। चलचित्रको सङ्गीत एसडी योगी र छान्जु पार्क (कोरिया) को रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu