नेपाली चलचित्र चलचित्र ‘अग्निदहन’ बिहारमा भोजपुरी भाषामा प्रदर्शन



काठमाडौं। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित शिक्षामूलक सामाजिक चलचित्र ‘अग्नीदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा भोजपुरी भाषामा विशेष प्रदर्शन गरिएको छ। कमाण्डेन्ट अफ एसएसबी–२० औँ बटालियनमा आयोजित कार्यक्रममा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र चलचित्रको निर्माण टोलीको उपस्थितिमा यो चलचित्र देखाइएको हो।

चलचित्रको यो विशेष प्रदर्शनसँगै नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा शिक्षामूलक चलचित्रको अभावमा ‘अग्नीदहन’ले नयाँ प्रभाव पार्ने विश्वास गरिएको छ। चलचित्रका परिकल्पनाकार तथा ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविद शरण उपाध्यायले भोजपुरी भाषामा चलचित्र प्रदर्शन हुनु ऐतिहासिक रहेको बताए। उनले भने, “हामीले यसलाई सीमावर्ती क्षेत्रमा लैजाने तयारी गरिरहेका छौँ, जहाँ यो नयाँ सन्देश फैलाउने महत्त्वपूर्ण माध्यम बन्नेछ।”

चलचित्रको प्रदर्शनमा नेपाल भारत भातृ मञ्चका अध्यक्ष डा. नवलकिशोर सिंह, निर्देशक घनश्याम लामिछाने, निर्देशक शिवजी लामिछाने, कार्यक्रम संयोजक मनोहर मिश्रलगायतको उपस्थिति थियो। भारत भ्रमणको संयोजन र कार्यक्रमको सञ्चालन मुरली मनोहर सिंहले गरेका थिए।

चलचित्रका निर्देशक घनश्याम लामिछानेले यो चलचित्रले थ्रिल, सस्पेन्स र सन्देशको मिश्रणमार्फत दर्शकलाई मनोरञ्जन र शिक्षा दुवै दिने बताए। उपन्यासलाई सिनेम्याटिक तवरबाट पर्दामा उतारिएको यो चलचित्रले बोक्सी प्रथाविरुद्धको सन्देशलाई स्पष्ट रूपमा व्यक्त गर्ने उनको विश्वास छ।

उपाध्यायले आगामी छठ पर्वका अवसरमा ‘अग्नीदहन’लाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शितलनिवासमा प्रिमियर गर्ने तयारी भइरहेको जानकारी दिए।

‘अग्नीदहन’लाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत प्रदान गरिसकेको छ भने यसलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu