‘प्रविधि पूजा’ गर्दै चलचित्र ‘बलिदान’को छायाङ्कन शुभारम्भ, निर्देशक भन्छन्, ‘बलिदानको बिगुल’ फुक्यौँ



इटहरी। छायाङ्कन अगावैदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘बलिदान’को छायाङ्कन ‘प्रविधि पूजा’सँगै शुभारम्भ गरिएको छ। हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा गरिएको हो, जुन ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथीभरा मन्दिरको शाखाका रूपमा चिनिन्छ।

शनिवार मोरङको इटहरीमा चलचित्रको पहिलो शट लिइने छ, जसमा अभिनेत्री ऋचा शर्मा र केही बाल कलाकारहरूको दृश्य रहनेछ। निर्देशक सन्तोष सेनका अनुसार, केही दिनपछि समीर भट्ट, अर्पण थापा, सौगात मल्ल, र दिव्य देवलगायतका कलाकारहरूको छायाङ्कन सुरु हुनेछ।

“बलिदानको निर्माणका लागि लामो समयदेखि हामीले अथक मेहनत, खोज अनुसन्धान, र सिर्जनासँगै प्री-प्रोडक्सनमा गरिएको सम्पूर्ण तपस्यापछि आज प्रविधि पूजा गर्दै प्रोडक्सनको चरणमा प्रवेश गरेका छौँ। भारतका प्रख्यात प्राविधिकहरू र नेपालका सम्पूर्ण प्राविधिक तथा कला डिपार्टमेन्टका सदस्यहरूलाई एकत्रित गर्दै हरितालिका तीजको उपयुक्त दिनमा क्यामेरा र अन्य प्रविधिको पूजा गर्दै ‘बलिदानको बिगुल’ फुकेका छौँ,” पूजापछि निर्देशक सेनले भने, “पर्दापछाडि बसेर स्मार्ट तरिकाले काम गर्ने प्राविधिक र प्रविधिलाई हामीले सधैँ ‘रियल हिरो’ मान्छौँ, त्यसैले सर्वप्रथम प्रविधिको पूजा गरेर हामीले यो यात्रा सुरु गरेका हौँ।”

चलचित्रको कथा नेपालको माटोमाथि भइरहेको शोषण, निरङ्कुशता, र समाजका तथाकथित नाइकेहरूको अत्याचारमा आधारित छ। निर्देशक सेनले यस चलचित्रलाई ‘महाकथा’ का रूपमा चित्रण गर्दै यो प्रोजेक्टका लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताएका छन्।

‘बलिदान’लाई दक्षिण भारतका चर्चित प्राविधिकहरू, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि लगायत ५० जनाको प्राविधिक टोलीले निर्माण गर्नेछ। चलचित्रमा प्रयोग गरिने लाइट, साउन्ड, र क्यामेरा उपकरणहरू भारतको मुम्बईबाट ल्याइएको हो। छायाङ्कनका लागि इटहरीस्थित बिएमसी स्टुडियोमा भव्य सेट तयार गरिएको छ भने विराटनगर क्षेत्रमा पनि सेट निर्माण भएको छ। करिब ६० प्रतिशत छायाङ्कन स्टुडियोमै हुने निर्देशक सेनले जानकारी दिएका छन्।

चलचित्रमा प्रमुख भूमिकामा अभिनेता बिराज भट्टका छोरा समीर भट्ट रहेका छन्, जसले मुम्बईमा लामो समयदेखि अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिम लिएका छन्। साथमा सौगात मल्ल, अर्पण थापा, दिव्य देव, र ऋचा शर्माको पनि मुख्य भूमिका रहनेछ।

आसुसेन फिल्मस् प्रा.लि. र सन्तोष सेनको प्रस्तुति रहेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र सह-निर्माता प्रेम पुरी हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu