सधैँ तीजको रौनक बढाउने गीत ‘तीजको रहर आयो बरिलै’



काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिन हिन्दु धर्मावलम्बी नारीहरू महादेवको पूजा आराधना गरी हरितालिका तीज मनाउँदै छन्। सत्ययुगमा आजैको दिन निराहार व्रत बसेर पार्वतीले महादेवलाई स्वामीको रूपमा पाएकाले, यो दिन व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा महिलाहरू तीजको व्रत बस्ने गर्दछन्।

गाउँदेखि सहरसम्म तीज गीतको धुनले तीजको रौनक भित्रिएको अनुभूति हुन्छ। तीजको दिन रातो साडीमा सजिएर महिलाहरू तीज गीतमा कम्मर ननचाएसम्म धित मर्दैन। यस कारणले गर्दा पनि तीजको पर्वमा गीतसङ्गीतलाई अभिन्न अङ्गको रूपमा लिइन्छ।

बर्सेनि तीजका लागि सयौँ गीत रेकर्ड हुने गरेका छन्। यस वर्ष पनि सयौँ तीज गीतहरू सार्वजनिक भए। यस पटक तीज गीतमा अश्लीलता भित्रिएको भन्दै व्यापक आलोचना पनि भयो भने गुपचुप रहने गायिका विष्णु माझीले ‘आइन आमा’ बोलको तीज गीत सार्वजनिक गरेपछि बहु चर्चित बन्यो।

नेपाली चलचित्रमा पनि तीज गीतलाई कथा वाचनको माध्यमको रूपमा प्रयोग गरिँदै आएको छ। पछिल्लो पटक भने चलचित्रमा राखिने तीज सम्बन्धित गीतहरू पहिलेको तुलनामा सशक्त लाग्दैनन्। वर्षौँदेखि तीजमा सर्वाधिक लोकप्रिय र सबैको रोजाइमा परेको गीत ‘तीजको रहर आयो बरिलै’ नेपाली चलचित्रकै हो। तीजमा नारीहरूको जमघट हुँदा यो गीतमा नाच्नुपर्ने परम्परा नै बसेको छ। यो गीत चलचित्र ‘कन्यादान’ मा समावेश गरिएको हो। कैयन दशक पुरानो यो गीत बज्न थालेपछि मानिसहरूले तीजको रौनक महसुस गर्ने गर्दछन्।

चेतन कार्कीको शब्द, दिपा झा र पूर्णिमा श्रेष्ठको स्वर र मनोहरी सिंहको सङ्गीतमा रहेको यो गीतको ओर्जिनल भिडियो भने इन्टरनेटमा भेट्न मुस्किल छ। गौरी मल्ल, वसुन्धरा भुसाल र सुभद्रा अधिकारीको अभिनय रहेको गीतमा, श्रीमानको दीर्घायुको कामना गर्दै वर्षौँपछि भेट भएका दिदीबहिनीहरूले सबै दुःख-पीडा भुलेर खुसीसाथ नाच्नुपर्ने भनिएको छ। गीतको कोरियोग्राफी वसन्त श्रेष्ठले गरेका हुन्।

चलचित्र ‘आफ्नो मान्छे’ (तीज र तिहार आउँदामा), ‘मुना मदन’ (नाच नाच सङ्गिनी), ‘अन्दाज’ (आयो बरै तीजको रमझम), ‘रोमियो एन्ड मुना’ (डान्समा म एक नम्बर), ‘अन्जानमै माया बस्ला है’ (तीजको यो कस्तो रहर), ‘शकुन्तला’ (लपक्कै लाली), ‘रङ्ग बैजनी’ (छड्को पोते) लगायतका चलचित्रमा पनि तीज गीत समावेश गरिएका छन्। तर, ‘तीजको रहर’ जति लोकप्रिय अन्य चलचित्रका तीज गीत बन्न सकेका छैनन्।

गीत सुन्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu