२ सय ५० वर्ष पुरानो गीत ‘राजमती’को नेपाली संस्करण सार्वजनिक



काठमाडौं। नेपालका सङ्गीत प्रेमीमाझ लोकप्रिय र ऐतिहासिक महत्त्व राख्ने करिब २ सय ५० वर्ष पुरानो कालजयी गीत ‘राजमती’को नेपाली संस्करण सार्वजनिक गरिएको छ। यो गीतको रेकर्डिङ भने झन्डै ११५ वर्षअघि पहिलो पटक भारतको कलकत्तामा रेकर्ड गरिएको थियो।

बुधवार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘राजमती’को नेपाली भर्सन सार्वजनिक गरे। उक्त कार्यक्रममा गायक सेतुराम प्रधानको परिवारलाई सम्मान गरिएको थियो भने वरिष्ठ पत्रकार बिजयरत्न तुलाधरलाई राष्ट्रिय पत्रकारिता पुरस्कार र व्यवसायी फुपु तेञ्जिङ्ग शेर्पालाई राष्ट्रिय युवा उद्यमी पुरस्कारबाट सम्मानित गरिएको थियो।

नेपालका पहिलो गायकको रूपमा परिचित सेतुराम प्रधानले विसं १९६५ तिर भारतको कलकत्तामा नेपाली र नेपाल भाषाका १४ वटा गीत, जसमा ‘राजमती’ पनि समावेश थियो, ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए। यो रेकर्ड नेपालमा ग्रामोफोन डिस्कमा गरिएको पहिलो घटना हो।

यस ऐतिहासिक गीतलाई गीतकार कृष्णदेव रिमालको भाषा सम्पादनमा, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको सङ्गीत संयोजनमा नेपाली भर्सन तयार पारिएको हो। निर्माता कम्पनी ड्रिम वर्ल्ड अफ फिल्म मेकर्सले यो गीतलाई विश्वभरका नेपाली भाषी समुदायलाई थप परिचित गराउने उद्देश्यले नेपाली संस्करणमा ल्याएको जनाएको छ।

सो अवसरमा आयोजक संस्थाकी अध्यक्ष शबनम मुखियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा आदि गायक सेतुराम प्रधानका नाति मदन प्रधान, पत्रकार बिजयरत्न तुलाधर, ‘राजमती’ चलचित्रकी नायिका हिसिला महर्जन, र प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले मन्तव्य राखेका थिए।

सङ्गीतको पुरानो महत्त्वलाई कायम राख्दै, गीतलाई १०० वर्षअघिको कथावस्तु अनुरूप नै बनाइएको छ, र सोही अनुसार भिडियो निर्माण गरिएको हो। भिडियोमा सागर खनाल, सोनी लगुन, र अन्य कलाकारको अभिनय रहेको छ। भिडियोको कन्सेप्ट र निर्देशन शबनम मुखियाले गरेकी हुन् भने गीतकी प्रोड्युसर रश्मि प्याकुरेल हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu